Home मुख्य समाचार मेलमिलाप केन्द्रबाट टुङ्गो नलागेका विवादहरु अदालत पठाइने

मेलमिलाप केन्द्रबाट टुङ्गो नलागेका विवादहरु अदालत पठाइने

हेटौंडाः हेटौंडा उपमहानगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रहरुमा आएको विवादहरु टुङ्गो नलागेमा अब अदालत पठाइने भएको छ । यसअघि मेलमिलाप केन्द्रमा सहमति हुन नसकेका विवादहरु हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा पठाउने गरिएको थियो । अब भने मेलमिलाप केन्द्रमा टुङ्गो नलागेका विवादहरु न्यायिक समितिमा नभएर अदालतमा पठाइने भएको हेटौंडा उपमहानगरपालिकाको मेलमिलाप संयोजक रामचन्द्र अर्यालले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको मेलमिलाप केन्द्रहरुमा अधिकांश विवादहरु जग्गा विवाद, सिमा साँध र अशंबण्डाका विवादहरु आउने गरेकोे मेलमिलाप केन्द्रका संयोजकहरुले बताउनुभयो । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा २० वटा विवादहरु हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा स्थापित मेलमिलाप केन्द्रमा दर्ता भएको संयोजक रामचन्द्र अर्यालले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको भवनमा रहेको मेलमिलाप केन्द्रले हेटौंडा–१ देखि हेटौंडा–११ नम्बर वडाका विवादहरुको विषयमा मेलमिलाप गराउने गरेको छ । हेटौंडा–३ बाहेक हेटौंडा १ देखि ११ नम्बर सम्मका १० वडाका विवादहरु मेलमिलाप केन्द्रमा आउने गरेको संयोजक अर्यालको भनाइ छ । अधिकांश विवादका विषयहरु घरजग्गाको विवाद, सिमासाँधको तथा अशंबण्डाको आउने गरेको उहाँले बताउनुभयो । चालु वर्षको ३ महिनामा दर्ता भएका २० विवाद मध्ये ७ वटा विवादका विषयहरु अन्तिम प्रक्रियामा पुगेको छ ।

गत वर्ष ६० वटा निवेदन परेकोमा ३६ वटा विवाद मिलाइएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको भवनमा रहेको मेलमिलाप केन्द्रमा सबैभन्दा बढी हेटौंडा–५ बाट विवादहरु दर्ता भएको तथा ११ नम्बर वडाबाट फाट्टफुट्ट विवाद आउने गरेको पाइएको मेलमिलाप संयोजक अर्यालले बताउनुभयो । हालसम्म मेलमिलापका लागि आएका मध्ये करिब ८० प्रतिशत मेलमिलाप गराइएको तथा २० प्रतिशत भने विवाद मिलाउन नसकिएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकामा ५ वटा मेलमिलाप केन्द्र तोकिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडा बाहेक १ देखि ११ नम्बर सम्मका १० वटा वडाको मेलमिलाप केन्द्र हेटौंडा उपमहानगरपालिकाको कार्यालयबाटै हुँदै आएको छ । त्यस्तै ३ नम्बर वडाका लागि ३ नम्बर वडा कार्यालयमा, १९ नम्बर वडाका लागि १९ नम्बर वडा कार्यालयमा, १३ नम्बर वडा कार्यालय भवनमा हेटौंडा १२ र १३ नम्बर दुई वडाका लागि मेलमिलाप केन्द्र तोकिएको छ । यसैगरी हेटौंडा १४ र १५ नम्बर वडाका लागि हेटौंडा १५ को वडा कार्यालयमा, हेटौंडा १६ र १७ नम्बर वडाका लागि १७ नम्बर वडा कार्यालय हटियामा तथा १८ नम्बर वडाका लागि १८ नम्बर वडा कार्यालय हर्नामाडिमा मेलमिलाप केन्द्र रहेको छ ।

हेटौंडा–१९ मा रहेको मेलमिलाप केन्द्रका मेलमिलाप संयोजक कृष्णप्रसाद पौडेलका अनुसार चालु वर्षको साउन, भदौ र असोजसम्म १४ वटा निवदेन दर्ता भएका छन् । जसमध्ये ३ वटा विवादमा मेलमिलाप भइसकेको छ भने अन्य प्रक्रियामा रहेको छ । गत वर्षमा २४ वटा विवादमा मेलमिलाप गराइएको उहाँले बताउनुभयो । यस्तै गत वर्षमा हेटौंडा–१९ को मेलमिलाप केन्द्रमा आएको ११ विवाद मेलमिलाप हुन नसकेर चालु वर्षमा सरेको संयोजक पौडेलले बताउनुभयो । हेटौंडा–१३ का मेलमिलाप केन्द्रका संयोजक लक्ष्मीमाया मोक्तानले चालु वर्षको साउन, भदौ र असोजसम्म १० वटा विवादहरु मेलमिलाप गर्न केन्द्रमा आएको बताउनुभयो । जसमध्ये ३ वटा विवादमा मेलमिलाप भएको र बाँकी ७ वटा प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी हेटौंडा १६ र १७ नम्बर वडाका लागि हेटौंडा १७ को वडा कार्यालयमा मेलमिलाप केन्द्र तोकिएको छ । सरस्वती पौडेलको संयोजकत्वमा रहेको मेलमिलाप केन्द्रमा चालु वर्षको असोजसम्म ५ वटा निवेदन दर्ता भएका छन् । दर्ता भएका विवादमा हालसम्म छलफल हुन नसकेको उहाँले बताउनुभयो । यस्तै गत वर्षमा भने २६ विवाद मेलमिलाप गराउन सकिएको मेलमिलाप केन्द्रकी संयोजक सरस्वती पौडेलले बताउनुभयो । हेटौंडा–१८ मा रहेको मेलमिलाप केन्द्रमा ७ वटा विवादहरु चालुवर्षको असोज महिनासम्म दर्ता भएको छ । जसमध्ये ४ वटा विवादमा सहमति भइसकेको छ भने ३ वटा प्रक्रियामा रहेको मेलमिलाप केन्द्रकी संयोजक निर्मला न्यौपाने बानियाँले जानकारी दिनुभयो ।

Exit mobile version