Home मुख्य समाचार कर्मचारी सङ्क्रमित भएपछि कार्यालयहरु बन्द हुन थाले

कर्मचारी सङ्क्रमित भएपछि कार्यालयहरु बन्द हुन थाले

हेटौंडाः एकजना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको जनाएको छ । बिहीबारदेखि लागु हुने गरी कात्तिक १ गतेसम्मका लागि सेवा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय मात्रै नभई उल्लेख्य सङ्ख्यामा कार्यालयहरु बन्द भएका छन् ।प्रशासन कार्यालयले शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।

यस्तै बुधबारबाट हेटौंडाको सामुदायिक आँखा अस्पतालको सेवाहरु बन्द भएको छ । आँखा अस्पतालका कर्मचारीहरुमा पनि कोरोना सङ्क्रमण फैलिएसँगै आकस्मिक सेवा बाहेका अन्य सेवाहरु बन्द भएको अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले बताउनुभयो । शुक्रबारसम्म अस्पतालको आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द हुने उहाँले बताउनुभयो । कर्मचारीमा कोरोना सङ्क्रमणकै कारण मालपोत कार्यालय ४ दिन बन्द रह्यो । कर्मचारीमा कोरोना भइरस सङ्क्रमणकै कारण मकवानपुरको मनहरी गाउँपालिका पनि बन्द छ ।

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकै कारण घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको सबै सेवा बिहीबारदेखि ५ दिनका लागि बन्द भएको छ । बिहीबारदेखि कार्तिक ३ गतेसम्म सेवाग्राहीलाई प्रदान गरिने उद्योग-वाणिज्य फर्म दर्ता, नवीकरण, नामसारी, ठाउँसारी लगायतका सम्पूर्ण सेवाहरु ५ दिनका लागि बन्द गरिएको कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताउनुभयो । कार्यालयको एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बिहीबारबाट सबै सेवाहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयको आन्तरिक कार्य भने भौतिक दूरी कायम गरेर सञ्चालन भइरहेको छ । यस्तै घरेलु उद्योग कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा बजार लगायत अन्य क्षेत्रको बजार अनुगमन पनि प्रभावित हुने भएको छ । घरेलु उद्योग तथा साना कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालका अनुसार अब केही दिन अनुगमन प्रभावित हुने भएको हो । यसअघि घरेलुको समन्वयमा हेटौंडा बजार, पदमपोखरी लागयत अन्य स्थानहरुमा संयुक्त बजार अनुगमन हुँदै आएको थियो ।

कर्मचारीमा बढ्दो सङ्क्रमणकै कारण बागमती प्रदेशको राजधानी रहेको पालिका हेटौंडा उपमहानगरपालिका पनि बन्द हुने स्थितिमा पुगेको छ । कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै उपमहानगरपालिका पनि छिट्टै बन्द हुने एक कर्मचारीले जानकारी दिए ।

Exit mobile version