Home मुख्य समाचार दशैंलक्षित यात्रु सहायता कक्ष स्थापना हुने

दशैंलक्षित यात्रु सहायता कक्ष स्थापना हुने

Help desk (customer care icon) cyan blue glossy round button

हेटौंडाः मकवानपुरमा दशैंलक्षित सुरक्षाका योजना लागू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दशैंमा पनि यात्रु सहायता कक्ष सञ्चालन गर्ने प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभयो । छिट्टै यात्रु सहायता कक्ष निर्माण गरिने भएको उहाँले बताउनुभयो ।

यात्रुहरुको भीडभाड धेरै हुने स्थानहरुमा यस्तो सेवा सुचारु गरिने प्रहरी नायव उपरीक्षक रानाको भनाइ छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत वर्षहरुमा पनि हेटौंडाको बसपार्क लगायत धेरै भीडभाड हुने स्थानहरुमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्दै आएको थियो । चाडवाडमा सादा पोशाकमा भने प्रहरी नखटाइने भएको छ । अहिले प्रहरीले प्रहरी पोशाक, साइकल सुरक्षा, मोटरसाइकबाट नागरिकहरुलाई सुरक्षा दिइरहेको छ । जिल्लामा चाडवाडको समयमा प्रहरीले सवारी साधन र मापसे चेकिङ पनि गर्ने भएको छ । कोरोना महामारीको अवस्थामा सुरक्षित रहेर सुरक्षा दिने भएको प्रहरी प्रवक्ता समेत रहनुभएका रानाले बताउनुभयो ।

कोरोना महामारी तीव्र फैलँदा प्रहरीमै सङ्क्रमण फैलिएको छ । हालसम्म जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालयहरुमा कार्यरत ३५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । २ जना बाहेक अन्य सबै निको भएका छन् । प्रहरीले सबै जनशक्तिलाई बाहिर नखटाउने भएको छ । आवश्यकताअनुसार जिल्ला प्रहरी कार्यालयले व्याकअप फोर्स तयार गरेर राख्ने गरेको उहाँले बताउनुभयो । यस्तै चाडवाडमा प्रहरीले आफ्नो घर वरपर शंकास्पद व्यक्ति देखिएमा वा कुनै पनि प्रकारको घटना भएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ । दसैंमा चोरीका घटनाहरु हुन सक्ने भन्दै चनाखो बस्न पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले भनेको छ ।

Exit mobile version