हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले चालु आर्थिक वर्ष २०७७-०७८ का लागि मौजदात कोषको रकम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ । शनिबार बसेको जिसस बोर्ड बैठकले विभिन्न स्थानीय तहहरुबाट माग भई आएका आयोजना सञ्चालनका लागि उपलब्ध गराउने मौजदात कोष अनुदान स्वीकृत गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा शनिबार बसेको बोर्ड बैठकले जिल्लाका विभिन्न स्थानीय तहबाट माग भई आए अनुसारको स्वीकृति प्रदान गरिएको हो । तत्कालिन जिल्ला विकास समितिमा खर्च गरेर बाँकी रहेको रकमबाट मौज्दात कोष सञ्चालन निर्देशिका–२०७५ बमोजिम स्थानीय तहको सिफारीसमा विभिन्न योजनाहरुका लागि प्रक्रिया पूरा गरी आएका योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।
बैठकले प्रक्रिया पूरा गरेर आएका मध्ये कैलाश गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २ करोड, मनहरी गाउाँलिकाको तीनवटा वडा कार्यालय भवन निर्माणका लागि एक करोड, भीमफेदी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि एक करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै हेटौंडा–७ को वडा कार्यालय भवन निर्माणका लागि लागतको ६० प्रतिशत र हेटौंडा–१८ को हर्नामाडी स्वास्थ्य चौकि निर्माणका लागि कार्यविधिले तोके अनुसारको रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
मौजदात कोष निर्देशिकामा साविक जिविसबाट प्रारम्भ भई निर्माण कार्य अधुरो रहेको योजनाहरु, स्थानीय तहका प्रशासनिक भवन तथा मर्मत सम्भार, स्थानीय तहका वडा कार्यालय भवनहरु, सामुदायिक विद्यालय भवन निर्माण, प्रशुति केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र भवन तथा खानेपानी सम्बन्धी पूर्वाधार निर्माण सम्बन्धी योजनाहरुमा रकम खर्च गर्न मिल्ने प्रावधान रहेको छ । सोहि बमोजिम चालु आर्थिक वर्षका लागि जिल्ला सभाबाट पारित भएको रकमबाट जिससको बोर्ड वैठकले योजनाहरु सञ्चालनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो । बोर्ड बैठकले योजनाको लागत अनुमान, नक्सा, जग्गा सम्बन्धी आवश्यक डकुमेन्टका आधारमा भवन निर्माणका लागि ६० प्रतिशत र खानेपानी आयोेजनाका लागि ७५ प्रतिशत तथा बाँकी रकम स्थानीय तहले व्यहोर्ने गरी सम्झौता गर्ने गरिएको उहाँले बताउनुभयो । मौजदात कोषबाट यस अघि जिल्लाका विभिन्न स्थानीय तहहरुलाई करिब ११ करोड उपलब्ध गराईसकिएको छ ।