रमेशमोहन अधिकारी

सरकारी विद्यालयमा नेपाली विषयका शिक्षक रमेशमोहन अधिकारी नियमित पठनपाठनका साथै विद्यार्थीलाई नेपाली साहित्यको अभ्यासमा निरन्तर प्रेरित गर्ने सन्दर्भमा परिचित हुनुहुन्छ । रमेश सर जहाँ पुग्नुहुन्छ त्यहाँका विद्यार्थीलाई साहित्य अभ्यासमा प्रेरित गर्नुहुने कुरा आजका युवा साहित्यकारमाझ जानकारीको विषय हो । आजका केही चर्चित युवा साहित्यकारहरु कुनै बेला रमेश सरको विद्यालय तहका विद्यार्थीहरु नै छन् । विद्यालय तहमा नियमित जागिर मात्रै नभई विद्यार्थीलाई रचनात्मक बनाउनु पनि जिम्मेवारी सम्झनुहुने हाल हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविका शिक्षक रमेशमोहन अधिकारीसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः विद्यालयमा आफू शिक्षण पेशामा आवद्ध भइरहँदा विद्यार्थीलाई सहित्य लेखनमा, साहित्य अध्ययनमा निक्कै प्रेरित गरिरहनु हुन्छ । साहित्य लेखनमा किन प्रेरित गरिरहनु भएको हो ?
अधिकारीः मलाई लाग्छ हरेक व्यक्तिमा प्रतिभा हुन्छ र त्यो प्रतिभाको विकास सानै अवस्थाबाट नै हुन्छ । मैले विद्यालय तहमा पढुञ्जेल कविता, कथा, एकाङ्कीहरु पनि पढेँ । तर मलाई कविता के हो थाहा थिएन र मैले एसएलसी परीक्षा दिइसकेपछि मात्र कविता के हो थाहा पाएँ । मेरो कविता कविता भयो कि भएन भन्ने थाहा पाउन अझै धेरै वर्ष लाग्यो । त्यसकारण विद्यालय तहमा पढ्ने विद्यार्थीलाई विभिन्न विधाका बारेमा जानकारी दिनुपर्छ । तिनीहरुलाई यो विधा यस्तो हुनुपर्छ भन्नेकुरा जानकारी दिनुपर्छ । तिनीहरुलाई लेखनमा लगाउनु पर्छ भन्ने मलाई लागेको छ ।

समाजः कस्ता–कस्ता विद्याथी साहित्य लेखनमा अग्रसर भएको पाउनु भएको छ ?
अधिकारीः खासगरी पीडामा परेकाहरु, ज्यादै आनन्द भोगेकाहरुले लेख्न सक्ने सम्भावना हुन्छ । तर सबै विद्यार्थी हाम्रो दायरामा आउन सक्दैनन् । हामीसँग नजिक हुन पनि सक्दैनन् । हामी सबैलाई समेट्न पनि सक्दैनौं । त्यसकारण विद्यालय तहमा अगाडि रहेका विद्यार्थीहरु, पढाईमा अगाडि रहेका विद्यँर्थीहरु अलि बढि नै अग्रसर हुने सम्भावना बढि हुन्छ । ती भन्दा बाहेक थोरैमात्र विद्यँर्थी पनि अगाडि आउँछन् । तर तिनीहरु टिक्न सक्दैनन् । त्यसकारण आजसम्म मैले बुझ्दा कक्षामा राम्रो स्थानमा रहेका विद्यार्थीहरु नै साहित्यतर्फ लागिरहेको पाएको छु ।

समाजः साहित्यमा रुचि राख्दा, साहित्य रचना गरिरहँदा विद्यार्थीलाई कस्तो किसिमको लाभ हुन्छ ?
अधिकारीः साहित्य भनेको सिर्जनाको क्षेत्र हो । कला भनेको पनि सिर्जनाको क्षेत्र हो । सिर्जनाको क्षेत्रमा लाग्नेले हरेक कुरालाई सिर्जनात्मक ढंगले हेर्छन् । त्यसकारण उसमा मौलिक दृष्टिकोणको विकास हुन्छ । उसले अध्ययन पनि गर्नुपर्ने हुन्छ । त्यसैले उसका शब्दहरु पनि बढि हुन्छ । उसका शब्द क्षमता पनि बढि हुन्छ । उसले शब्दकोश पनि प्रयोग गर्न सक्छ र उसले शाब्दिक समाथ्र्य पनि बढाउँछ । उसले साहित्यिक भाषण, प्रवचन, मन्तव्यहरु पनि सुन्छ । उसले पुस्तक पढ्छ । उसले त्यहाँबाट पनि शब्दहरु ग्रहण गर्दछ र ग्रहण गरेका शब्दहरु प्रयोग गर्ने लालसा उसमा जागृत हुन्छ । त्यसैले गर्दा नयाँ शब्दहरु प्रयोग गर्ने, अरुभन्दा आफूलाई फरक ढंगले प्रस्तुत गर्ने बानीको विकास हुन्छ ।

समाजः साहित्यमा सहभागी, सक्रिय हुँदा औपचारिक शिक्षा, विद्यालय तहमा हुने वा विश्वविद्यालय तहमा हुने औपचारिक शिक्षामा भने कस्तो सहयोग गर्छ वा औपचारिक शिक्षा प्रभावित हुने गर्छ ?
अधिकारीः सिर्जनात्मक क्षमताले हरेक कुरालाई सिर्जनात्मक ढंगले बुझ्ने क्षमताको विकास गर्छ । त्यसकारण उसको बुझाईले, उसको हेराईले, उसको दृष्टिकोणले हरेक विषयमा काम गर्छ । जस्तो साहित्यमा लाग्ने विद्यार्थी विज्ञानमा पनि अगाडि बढ्ने सम्भावना हुन्छ । किनभने त्यहाँ पनि उसले नवीन सोचले काम गरिरहेको हुन्छ । त्यस्तै चित्रकारितामा आएको विद्यार्थी साहित्यमा छ भने अझै उसले सिर्जनात्मक क्षमता विकास गर्छ । चित्रकला उसको विषय हुँदै हो तैपनि उसले अझै मौलिक सोचको विकास गर्छ । औपचारिक शिक्षालाई मद्दत नै गर्छ ।

समाजः अधिकांश विद्यालयमा साहित्यको अभ्यास भइरहेको पाइँदैन । शिक्षकहरुमा यो खालको बुझाई नभएर हो वा उहाँहरुले आवश्यक ठान्नु भएन ?
अधिकारीः जागिर खानु एउटा कुरा हो र आफूले खाएको जगिर कस्तो हो भनेर बुझनु अर्को कुरा हो । यो शिक्षण पेशा एउटा जागिर पनि हो, मानिसको आन्दानीको बाटो पनि हो । तर त्यहाँबाट हामीले के गर्न सक्छौं हेर्न सक्नु पर्छ । शिक्षण पेशा निकै राम्रो पेशा हो । मानिसहरु जिन्दगीभर शिक्षण पेशामा लागियो दुख पाईयो भन्छन् तर, मलाई त्यस्तो लाग्दैन । मैले जागिर छाड्ने बेला भएको छ । तर मलाई शिक्षण पेशामा गर्व छ । किनभने मैले शिक्षित गरेका वा प्रशिक्षण गरेका वा कुनै न कुनै किसिमले अघि बढाएका व्यक्तिहरु ठाउँ–ठाउँमा छन् । तिनीहरुलाई देखेर म खुशी हुन्छु । तिनीहरु सांसंद पनि भए र अहिले पनि संघीय सांसद मध्ये कतिपय मैले कुनै किसिमले प्रशिक्षित गराएका मान्छेहरु छन् । जनप्रतिनिधिदेखि निजामती कर्मचारी, शिक्षक आ–आफ्नो ठाउँमा योग्य भएर देखा परेका छन् ।

शिक्षक भनेको व्यक्तिको व्यक्तित्व निर्माण गरिदिने ठाउँ हो । व्यक्तिलाई अगाडि बढाउने ठाउँ हो । व्यक्तिलाई असल मार्गमा डोर्‍याउने पद हो । त्यसकारण हामीले विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म जागिर हो हाम्रो, पढाएपछि भै हाल्यो, हाम्रो काम विद्यालय जाने भट्याउने हिँड्ने हो मात्र बुझ्यौं भने हामी सिर्जनात्मक हुन सक्दैनौं र हामीले अरुलाई पनि सिर्जनातर्फ प्रेरित गर्न सक्दैनौं । जुन व्यक्तिले म शिक्षक हुँ, शिक्षक भनेको अरुलाई अँध्यारोबाट उज्यालोतर्फ लाने हो, शिक्षक भनेको अरुको जिन्दगी राम्रो बनाउने हो भनेर जसले बुझ्छ उसले प्रेरणा दिन सक्छ । अर्को कुरा प्रेरणा दिन आफूसँग ज्ञान पनि हुनुपर्छ र त्यो ज्ञान प्राप्त गर्न पनि खोज्छ र कुनै न कुनै ढंगले उसले ज्ञान प्राप्त गर्छ र आफुले प्राप्त गरेको ज्ञान अरुलाई दिन्छ ।

समाजः अभिभावकहरुको प्रतिक्रिया बुझ्न पाउनु भएको छ कि छैन ? अभिभावकलाई कस्तो अपील गर्न चाहनु हुन्छ ?
अधिकारीः अभिभावकहरुले सिधै हामीलाई केही भनेको जस्तो हामीलाई लाग्दैन । जस्तै चित्रकलामा पनि विद्यार्थीहरुलाई प्रोत्साहन गरिरहेका छौं त्यसमा अहिले हाम्रो पुस्तक आउँदै छ । त्यसको आइतबार नै हामीले चन्द्रोदय प्रभा नामक पुस्तक विमोचन गर्छौं । त्यसमा हाम्रो ३५ जना विद्यार्थीहरुको कथा तथा कविताहरु समावेश छन् । पुस्तकभरी एउटै विद्यार्थीको चित्र छ । प्रायः सबै रचनाहरुमा चित्र पाइन्छ र अगाडि र पछाडिको चित्रहरु पनि एउटै विद्यार्थीको हो । त्यो विद्यार्थी ६ कक्षमा पढ्ने अविनाश चौधरी हो । शिक्षकको सम्बन्ध अभिभावकसँग पनि भइरहेको हुन्छ । बुझेका अभिभावकहरुको एउटा धारणा हुन्छ र नबुझेका अभिभावकहरुले पनि सरहरुले राम्र्रै गर्नु त भएको होला नि भन्ने धारणा हुन्छ । त्यस्तो विरोध भने आएको छैन ।

समाजः विद्यार्थीलाई साहित्यतर्फ सहभागी हुन प्रेरित गर्न अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्न चाहनु हुन्छ ?
अधिकारीः अभिभावकले विद्यार्थीहरुलाई वातावरण दिनुपर्छ । उनीहरुले लेख्न खोजेको समयमा अनावश्यक कुरा लेख्यो भनेर झिँजो मान्नु हुँदैन र उनीहरुले कापीमा केही फाल्तु कुराहरु लेख्यो भनेर च्यातेर फाल्नु हुँदैन । उसले लेखेको कुरालाई राम्रै गरेको हो भनेर बुझनु पर्छ र राम्रो हो भनेर बुझ्ने बेला भएको छैन भने पनि नराम्रो गरेको होईन भनेर ठान्न सक्नु पर्छ । त्यसो ग¥यौं भने अभिभावकले सहयोग गर्ने सम्भावना हुन्छ । मैले मेरो विद्यालयको परिप्रेक्षमा अभिभावकले सहयोग गरेको थाहा पाएको छु । किनभने हामीले १५ दिन हामीले एउटा कार्यशाला चलायौं जहाँ विद्यार्थीहरु जाडोको समयमा विहानदेखि बेलुकासम्म बस्नु पथ्र्यो । अभिभावकहरुले केही भन्नु हुन्थेन । बरु अलि चाँडै छोडी दिनुस् राम्रै कुरा सिकेका छन् भन्नु हुन्थ्यो र जुन अभिभावकहरु हाम्रा सम्पर्कमा आउनु हुन्छ उहाँहरुकै मात्र हामीलाई कुरा थाहा हुन्छ त्यसरी हेर्दा उहाँहरुको सहयोग छ र सहयोग हुनु पनि पर्छ ।