हेटौंडाः प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरले आयोजना गर्दै आएको पाँच कविका पन्ध्र कविताको तेस्रो शृंखलाका रुपमा शुक्रबार फरक–फरक प्रदेशका पाँच कविहरूलाई प्रस्तुत गरिएको छ । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा मकवानपुरबाट कवि सुवास खनाललाई प्रस्तुत गरिएको थियो । खनालको पछिल्लो समय दोस्रो कविता कृतिको रुपमा ‘सपनाका अवयव’ बजारमा आउँदैछ । खनालले ‘सहरले ढुंगा खान्छ’, ‘लालबहादुरको किड्नी बिक्रीमा’ छ र ‘डाक्टर केसीको दिमाग ठीक छैन’ लगायत कवितामार्फत सामाजिक विद्रोहको आवाज प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश १ को सुनसरीबाट लता कार्कीले तीन कविता प्रस्तुत गर्नुभयो । उहाँले नारी चेत र आजको चेतनशील समयमा समेत नारीहरू विभेदीकरणको सिकार हुनुपरेका पक्षलाई कवितामा समेट्नुभएको थियो । कर्णाली प्रदेशको सुर्खेतबाट कविता वाचनमा प्रस्तुत भएका बलभद्र भारतीले २०४६ साल अघिका सामाजिक परिस्थिति र जर्जर अवस्थालाई कवितामा बुन्नुभएको थियो । लुम्बिनी प्रदेशको दाङबाट केशव थापाले तल्लो वर्गमा परेका र गिट्टी कुटेर खाने मजदुरका कथाहरू कवितामा व्याख्या गर्नुभएको थियो । उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छन्द कविताको अभियानमा संलग्न हुनुहुन्छ र पद्य कवितामा सामाजिक र वैचारिक पक्षहरू समावेश गर्नुहुन्छ ।
माक्र्सवादी सौन्दर्य चिन्तक तथा प्रगतिवादी कवि डा. अमर गिरिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाचित कविताहरूमाथि समीक्षात्मक टिप्पणी कवि तथा समालोचक विन्दु शर्माले गर्नुभएको थियो । प्रलेस मकवानपुरका सचिव विशाल अधिकारीको सहजीकरणमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले गर्नुभएको थियो ।