Home मुख्य समाचार पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना

पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना

हेटौंडाः बागमती प्रदेश सरकारको गौरबको आयोजना पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग आयोजनाको कार्यालय हेटौंडामा स्थापना गरिएको छ । कार्यालयको आज प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री फुँयालले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्गलाई तोकिएको समयमै सक्ने बताउनुभयो । १८ अर्ब ७ करोड अनुमान गरीएको सुरुङ मार्ग निर्माण पछि प्रदेश मात्र नभई राष्ट्रले नै गर्ब गर्न लायकको हुने उहाँले बताउनुभयो । सुरुङमार्ग निर्माणले दीर्घकालीनरुपमा देशलाई फाइदा पुर्याउने भन्दै यसको निर्माणमा सरकारको कुनै पनि कमजोरी नहुने बिश्वास दिलाउनुभयो । यसैगरी सुरुङ मार्ग निर्माण हुने स्थानसम्म पुग्न र काठमाण्डौ जान हाल प्रयोग भइरहेको भैसेदेखि भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको पनि जानकारी गराउनुभयो । सुरुङ निर्माणको कामले गति लिन सुरु गरेको बताउँदै जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा प्रदेश सरकार पुग्न थालेको पनि जनाउनुभयो ।

देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यो आयोजना निर्माणमा सहकार्य गर्न संघीय सरकारले कार्यदल यसअघि नै गठन गरेको छ । भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्ने छ । दुई वटा सुरुङ जोड्ने एप्रोच सडक सहित तीनवटा पुलसहित निर्माण गरिने जनाइएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार ३ दशमलव २१ किलोमिटर लामो र १५ र ७ मिटर फराकिलो दुर्ई वटा सुरुङ निर्माण गरिने छ । प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामकरण गरेर यसको निर्माणको तयारी थालेको २ वर्ष भइसकेको छ । प्रदेश सरकारले वैशाखमा टेण्डर आह्वान गर्ने योजना बनाए पनि कोरोना प्रभावका कारण समयमै टेण्डर आह्वान गर्न सकेको छैन ।

निजीक्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनीले हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउन संघीय सरकारसँग लिएको अनुमति खारेज गर्न बागमती सरकारले पहिले नै पत्राचार गरिसकेको छ । दुई लेनको सुरुङमार्ग भित्र एकातर्फ ग्यास र अर्कोतर्फबाट तेल लैजान पाइपलाइनसमेत राख्ने ठाउँ छुट्याइने मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माण हुँदा हेटौँडा–काठमाडौंको यात्रा करिब २ घण्टामा गर्न सकिनेछ । पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) सुरुङ निर्माण गर्न १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र दर्ता गराएका छन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको परामर्शदाता छनोटका लागि भदौ १ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । विभिन्न मुलुकका १२ वटा कम्पनीले परामर्शदाताका निम्ति आशयपत्र दर्ता गराएको मन्त्रालयले जनाएको छ ।

Exit mobile version