निकिता अधिकारी

मनिस एक सामाजिक प्राणी हो । उसलाई कसै न कसैको साथको आवश्यकता पर्दछ । साथी बिनाको जीवन कसैको हुन सक्दैन किनकी साथी छ र त जीवन सुन्दर, रमाईलो, सजिलो र सहज बन्दछ । त्यसैले सबैलाई नयाँ नयाँ ठाउँ जान नयाँ नयाँ साथी बनाउने इच्छा हुन्छ । विशेषगरी किशोर किशोरीलाई धेरै साथी चाहिन्छ र उनीहरु बनाउँछन् पनि तर अहिले लकडाउनको कारणले साथीहरुसँग भेट्न कुराकानी गर्न सकिँदैन त्यसैले अहिले सबैजना मोबाईल एडिक्ट भएका छन् । सबैको हात हातमा मोबाईल भएकाले हामी टाढाको मान्छेसँग नजिक र नजिको मान्छेसँग टाढा भइरहेका छौं । अहिलेका किशोर किशोरी सामाजिक सञ्जाल कै मार्फतबाट नयाँ साथी बनाउने गर्दछन् त्यसरी सामाजिक सञ्जालबाट बनाएको साथी कति असल हुन्छन् भने कति साथी गलत पनि हुन्छन् ।

त्यसैगरी धेरै साथी बनाउने नयाँ नयाँ मान्छेसँग बोल्ने मन पराउने मेरो घर नजिकैको एकजना बहिनी थिइन् । उनी कक्षा नौंमा अध्ययनरत थिइन् । उनले अनलाइन कक्षाका लागि फेसबुक आईडि बनाएकी थिइन् । उसले फेसबुक चलाउने क्रममा फेसबुकबाटै एउटा साथी बनाएकी थिइन् । उ दिनमा २४ घण्टामा १२ घण्टा त उसँगै बोल्थी । दिन रात उसँगै कुरा गर्थी त्यसरी १ महिना उनीहरु एक अर्कासँग बोल्न थालेपछि उनीहरु प्रेम सम्बन्धमा बाँधिए । केटा २२ वर्ष र केटी १४ वर्षको थिइन् । केटा कोठा भाडामा बसेको रहेछ । केटीसँग प्रेम सम्बन्धमा बाँधिएपछि केटा केटीकै घर नजिक कोठा लिएर बसेछ । उनीहरु प्रायः मोबाइलबाटै कुराकानी गर्थे र कहिलेकाहीँ भेट्दथे ।

त्यसरी प्रेमीसँग मात्र कुराकानी गर्ने गर्दा उसको पढाइमा कुनै पनि ध्यान थिएन । त्यसरी ३ महिनासम्म प्रेम सम्बन्धमा रहेपछि एकदिन केटाले केटीलाई शारीरिक सम्बन्ध राख्नको लागि प्रस्ताव राख्यो । त्यसपछि केटीले सोचेर भन्छु भनी अनि उसले त्यो विषयमा रात भर सोची । उसले पहिला आफ्नो उमेर कम भएको सोची त्यसपछि उसलाई आफ्नो स्वास्थ्यमा ठूलो असर पर्छ भन्ने डर लाग्यो अनि उसले केटा पनि बेरोजगार भएको र उसको कोखमा बच्चा बसीहालेमा उसको र बच्चाको जिम्मा कस्ले लिन्छ भन्ने सोची त्यसपछि आफुलाई दुख गरेर पढाई रहेको बाबु आमाको बारेमा सोची । मैले यति सानै उमेरमा यस्तो गल्ती गरी भने मेरो बाबु आमा जिउँदै मर्छन् भन्ने सोचेर भोलिपल्ट बिहानै उसले शारीरिक सम्बन्ध राख्नबाट अस्वीकार गरिदिई ।

त्यसको दुई दिन केटा चुप लाग्यो त्यसपछि दुईदिन पछि केटाले शारीरिक सम्बन्धको प्रस्ताव राख्यो केटीले त्यस बेला केहि नसोची सीधा अस्वीकार गरिदिई अनि केटाले किन भनेर सोध्दा केटीले म विवाह अगाडि यस्तो सम्बन्ध राख्न सक्दिन भनी त्यसपछि केटाले हामी आजै बिवाह गरौं न त भागौ भन्यो । त्यसपछि केटीले म बिवाह गदिर्न म भर्खर १४ वर्षको भए यति चाँडै म विवाह गर्दिन भनेर आफ्नो घर गई । उसलाई धेरै नै तनाव भयो र उसले आफ्नो घर नजिको एउटा केटी साथिलाई आफ्नो सबै कुरा बताई त्यसपछि उसको साथीले त्यो केटा राम्रो नभएको अरुसँग पनि शारीरिक सम्बन्ध राख्दै छोड्दै गरेको र यसलाई पनि धोका दिईरहेको बताई । उसलाई अब केटासँग नबोल्न र अबदेखि नभेटनका लागि सल्लाह दिई । साथीको कुरा ठिक रहेको ठानेर उसले त्यो केटालाई फेसबुकबाट ब्लक गरिदिई नम्बर पनि ब्लकलिस्टमा राखीदिई । त्यसपछि केटासँग भेट्न नि छाडिदिई । त्यसपछि केटाले अरुनै नम्बरबाट कल गरेर मलाई नछोड नत्र म मरिदिन्छु अनि चिठ्ठीमा तिम्रो कारणले मरेको भनेर लेख्छु भनेर धम्की दिन थाल्यो । केटीलाई झनै केटाप्रति घृणा हुन लाग्यो । उसले यस्तो सोची मेरा लागि मर्न सक्ने भए जबरजस्ती शारीरिक सम्बन्धको प्रस्ताव नै राख्ने थिएन भन्ने सोचेर जे गरेनी मलाई मतलब छैन भनेर फोन राखिदिई । दोस्रो दिन फेरी आर्को नयाँ नम्बरबाट फोन आयो केटाले अब मलाई छोडीस भने म तेरो घरमा आएर तेरो बुबा अमालाई हाम्रो सम्बन्धको बारेमा भनेर तेरो गाउँभरी बेइज्जत गराई दिन्छु भन्यो । केटी एकदम डराई अनि केहि नबोली फोन राख्दी । उसलाई धेरै तनाव भयो ।

उसले धेरै सोची अनि निर्णय लिई गल्ती त मबाट भएकै हो । मैले सामाजिक सञ्जालको मार्फतबाट नचिनेको मान्छेलाई साथी बनाउन नहुने थियो । दिन रात बोल्न भेटन नहुने थियो । तर अझ यो गल्तीलाई लुकाएर झन ठूलो गल्ती म गर्दिन भन्ने ठानेर अरुको मुखबाट बुबा आमाले सुन्नु भन्दा पहिला म आफै सबैकुरा साँचो भनी दिन्छु भनेर उसले सब कुरा आफ्नो बुबा आमालाई भनिदिई र बुबाआमाले एकपल्ट त्यस्तो गल्ती गरी हालिस् अब यो गल्ती नदोहोरियोस् भनेर सम्झाउनु भयो र हामी तँलाई साथ दिन्छौ अब नडराए हुन्छ केहि हुँदैन भनेपछि केटी ढुक्क भई र केटीको बुबाले केटालाई भेटेर अब मेरो छोरीसँग बोल्न वा भेट्न खोजेमा पुलिस केस गरिदिन्छु भनेर धम्की दिएपछि केटा त्यस गाउँ छाडेर अर्कै ठाउँमा गयो र केटीसँग कुनै पनि कुरा सम्पर्क हुन छाड्यो । केहि गरी केटीले नजानेर केटासँग शारीरिक सम्बन्ध राख्ने गलत निर्णय लिएको भए केटीको जिन्दगी बर्बाद हुन्थ्यो । तर उसले राम्रोसँग सोचेर सही निर्णय लिएको भएर उस्को जिन्दगी बर्बाद हुनबाट बच्यो । त्यहि भएर हामीले कसैलाई विश्वास गर्नु अगाडि हजार चोटी सोच्नु पर्दछ ।

किनभने कति राम्रो अनुहार र मिठो बोली लिएर घुमिरहेको मान्छे भित्र नराम्रो र कालो मनको पनि हुन सक्छ । त्यसैले सबै नचिनेको मान्छेलाई साथी बनाउनु हुँदैन । हामीले सामाजिक सञ्जालको राम्रो उपयोय गर्न जान्यौं भने यसले हामीलाई धेरै फाईदा दिन्छ र सामाजिक सञ्जालको गलत उपयोग गर्‍यौं भने यसले जति नराम्रो असर अरु केहिले गर्न सक्दैन ।
हेटौंडा क्याम्पस, स्नातक तह प्रथम वर्ष