हेटौंडाः हेटौंडा–११, थानाभर्‍याङस्थित बालसुधार गृहमा बस्दै आएका ३ जनालाई बुधबार भक्तपुरको सुधारगृहमा पठाइएको छ । सुधारगृहमा रहेका एकजना बालकको केही दिनअघि मृत्यु भएपछि मृतक बालकमा जस्तै स्वास्थ्य समस्या देखिएका तीन बालकलाई भक्तपुरको सुधार गृह पठाइएको बालसुधार गृह हेटौंडाका निमित्त प्रमुख प्रकाश सुवेदीले बताउनुभयो ।

गएको बिहीबार राति बाल सुधारगृहमा बस्ने ईन्द्रजित राईको मृत्यु भएपछि स्वास्थ्य अवस्थामा सुधार नदेखिएका तथा परिवार सम्पर्कमा नआएका ४ जनालाई भक्तपुर पठाउने भनिए तापनि ३ जनालाई मात्र पठाइएको हो । १ हप्ताअघि मृत्यु भएका इन्द्रजित जस्तै शरीर सुन्निने तथा रोग पत्ता नलागेका अन्य गम्भीर बिरामीहरु ४ जनालाई भक्तपुर सुधार गृहमा पठाउने तयारी भएको थियो ।

भक्तपुर सुधार गृहमा पठाउन कारागार विभागले अनुमति दिएपछि भक्तपुरको सुधार गृहमा समन्वय गर्दा कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएपछि हेटौंडाको सुधार गृहमा रहेका केहीको कोरोना परीक्षण भएको थियो । त्यस्तै २० असोजमा परीक्षणको भएका ६ मध्ये १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना परीक्षण भएका ४ जना भने भक्तपुर सुधारगृह पठाउने तयारी रहेका बालकहरु भएकोे सुधार गृहका निमित्त प्रमुख सुवेदीले बताउनुभयो ।

कोरोना पुष्टि भएपछि पठाउन खोजिएको मुख्य व्यक्ति हाल हेटौंडा–६ को गौरिटारको आइसोलेसनमा रहेका छन् । १ हप्ताअघि मृत्यु भएको सुधारगृहका ईन्द्रजित राईलाई जस्तै उनलाई पनि शरीर सुन्निने लक्षण भएको सुवेदीले बताउनुभयो । हेटौंडाको बालसुधार गृहमा करिब १ महिनादेखि बिरामी देखिएको ईन्द्रजितको समयमै उपचार हुन नसक्दा मृत्यु भएको थियो । मृत्यु भएलगत्तै सोही प्रकृतिका समस्या भएका अन्य सुधारगृहका ४ जनालाई भक्तपुरको सुधारगृह पठाउने बारे सरोकारवालाहरुको बैठक बसेको थियो भने हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामासहित जिल्ला अदालत मकवानपुरका न्यायाधीश, बागमती प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिहरुको संयुक्त बालसुधार गृहमा अवलोकन समेत भएको थियो ।

हेटौंडामा नियमित सामान्य स्वास्थ्य परीक्षण हुने भएपनि गुणस्तरीय उपचार भने सुधारगृहमा बसेकाहरुले पाउन सकेका थिएनन् । नेपाल सरकारले बालसुधार गृहलाई कम बजेट पठाउने र औषधी उपचारमा बजेट कम हुँदा सामान्य ज्वरो, रुघाखोकीका लागि मात्रै बजेटले धान्ने गरेको हेटौंडाको सुधार गृहको स्रोतले जनाएको छ ।