हेटौंडाः मिर्गौला पीडित रामकृष्ण बजगाईलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग रकम पठाएका छन् । मकवानपुरको बकैया गाउँपालिकाको छतिवन जुरेली घर भई हाल दक्षिण कोरियामा कार्यरत अभिनय न्यौपानेको पहलमा सङ्कलन गरिएको १ लाख १ हजार ५ सय ६८ रुपैयाँ मिर्गौला पीडित बजगाईलाई हस्तान्तरण गरिएको हो । कोरियाबाट सङ्कलन गरी पठाइएको सो रकम नेपालमा रहेका नबिन न्यौपानेले पीडित बजगाईको काठमाडौंस्थित डेरामा पुगेर हस्तान्तरण गरेका थिए ।
दक्षिण कोरियामा रहेका ३५ जना नेपालीले सहयोग रकम जुटाएर पठाएका थिए । मिर्गौला पीडित बजगाईले सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिएका छन् । दुबै मिर्गौलामा समस्या आएपछि ३३ वर्षीय बजगाईले आर्थिक सहयोगको याचना गरेका थिए । २०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मिर्गौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए ।
८ महिनादेखि उनी उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका छन् । हाल उनको काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । बजगाइले हप्तामा २ पटक डायलासिस गर्नका लागि आइतबार र बुधबार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डायलासिस गर्नका लागि ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । डायलासिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।
बजगाई करिब ७ वर्ष बैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारमा गएर आर्जन गरेको करिब १४ लाख रुपैयाँ मिर्गौलाको उपचारमै खर्च भइसकेको जानकारी दिए । चिकित्सकले मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् ।
आर्थिक अवस्था कमजोर रहेको कारणले मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि बजगाईले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेका थिए । बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैङ्कको खाता नम्बर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सकिनेछ । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने छ ।