Home मुख्य समाचार शिक्षक नै कोरोना सङ्क्रमति भएपछि बागमती गाउँपालिकामा विद्यालय बन्द

शिक्षक नै कोरोना सङ्क्रमति भएपछि बागमती गाउँपालिकामा विद्यालय बन्द

हेटौंडाः शिक्षकलाई नै कोरोना भाइरस सङ्क्रमण देखिएसँगै मकवानपुरको बागमती गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मङ्गलबार बिहान बागमती गाउँपालिकाका ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये एकजना शिक्षक रहेको बागमती गाउँपालिकास्थित जनता माविका प्रधानाध्यापक बसन्त राईले जानकारी दिनुभएको छ ।

कोरोना सङ्क्रमित शून्य रहेको र सङ्घीय सरकारले असोज १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन गर्न दिएको निर्देशन बमोजिम बागमती गाउँपालिकाका विद्यालयमा सिकाई सहजीकरणको कार्य भइरहेको थियो । दुईदिन अघि आइतबारबाट मात्रै विद्यालयमा स्वास्थ्य सतर्कता अपनाएर, भौतिक दूरी कायम गरेर विद्यालयमा पठनपाठन सुचारु गरेको बागमती गाउँपालिकाको शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आजै गाउँपालिकाले दसैंअघिसम्म विद्यालय बन्द गर्ने र वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको जनाएको छ ।

बागमती गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई भने नियमित विद्यालयमा उपस्थित भई आवश्यक आन्तरिक कार्यहरु सम्पादन गर्न निर्देशन दिएको छ ।

Exit mobile version