चितवनः जिल्ला समन्वय समिति (जिसस) महासंघ नेपाल, बागमती प्रदेश समितिको नवौं पूर्ण वैठक सोमबार चितवनमा बसेको छ । महासंघ बागमती प्रदेशका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो । कोरोनाका कारण लामो समय बस्न नसकेको बैठक स्वास्थ्य मापदण्डको पालना गर्दै सोमबार बसेको हो । बैठकमा जिल्ला समन्वय समितिहरुबाट हालसम्म भएका काम कारबाही, कोरोना भाइरस (कोभिड–१९) का सन्दर्भमा जिससबाट भएका काम, ढुंगा, गिट्टी, बालुवा सम्बन्धी नेपाल सरकारबाट जारी मापदण्डलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुखहरुले संघ र प्रदेश सरकारबाट जिससको अधिकार कटौति गरिँदै गएको बताउनुभएको छ । जिल्ला समन्वय समितिले स्पष्ट कार्यविधि, स्रोत साधन र कर्मचारीको अभावका बीचमा पनि प्रभावकारी रुपमा काम गरेको तर, संघीय सरकारबाट संविधानमै व्यवस्था भएर प्राप्त अधिकार समेत कटौति गर्ने कार्य भएको उनीहरुले बताएका छन् । सोमबारको बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशबाट आइइ सम्बन्धी अधिकार प्राप्त भए पनि संघले कार्यविधि जारी गरेर कटौति गर्न खोजेको र जिससलाई दिइएको अधिकार घुमाउरो किसिमले जिल्ला प्रशासन कार्यालयमा दिन खोजिएको बैठकमा सहभागीहरुले उल्लेख गरेका छन् ।
प्रदेश सरकारबाट समयमै अनुदान रकम प्राप्त नहुँदा काम गर्न समस्या भएको उनीहरुको भनाइ छ । उनीहरुले संघीयता आए पनि कार्यशैली पुरानै भएको भन्दै विनियोजित बजेट समयमै उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । जिल्ला समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वयको काम प्रभावकारी रुपमा गरेको तर, जिससलाई संविधान प्रदत्त अधिकार समेत कटौती भएको प्रति गुनासो गरिएको छ ।
बैठकले महासंघको समयावधी समाप्त हुन लागेकाले विषयमा समेत छलफल गर्दै आगामी बैठकबाट यस विषयमा टुंगोमा पुग्ने निर्णय गरेको छ । यस्तै जलवायु दिवस घोषणा गर्न सङ्घीय सरकार समक्ष पहल गर्ने, प्रदेश सरकारका मुख्यमन्त्री अथवा सरकारसँग जोडिएर जिससका तर्फबाट कुनै दिगो काम गर्ने, ढुंगा, गिट्टी, बालुवा सम्बन्धी मापदण्डका विषयमा तथा जिससका अन्य विषयमा सङ्घीय मन्त्री र सचिवको उपस्थितीमा छलफल गर्ने, अनुगमन समितिमा उपप्रमुखलाई राख्ने व्यवस्थाका लागि पहल गर्ने र जिससमा आवश्यक प्राविधिक कर्मचारी करारमा राख्न पाउने व्यवस्थाका लागि केन्द्र सरकार समक्ष पहल गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकले सिन्धुपाल्चोक जिल्लामा आएको प्राकृतिक प्रकोप (बाढी पहिरो) का कारण भएको धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुप्रीत श्रद्धाञ्जली एवम् परिवारजनप्रति समवेदन व्यक्त गर्ने निर्णय गरेको छ । बैठकमा महासंघ केन्द्रीय अध्यक्ष सीता सुन्दास, लगायत महासंघका केन्द्रीय प्रवक्ता, बागमती प्रदेश समिति सदस्य एवम् विभिन्न जिससका प्रमुख, उपप्रमुख तथा सदस्यहरुको उपस्थिती थियो ।