Home अन्तरवार्ता ‘राजनीतिमा पनि सिक्नुपर्ने कुरा थुप्रै हुनेरहेछ’

‘राजनीतिमा पनि सिक्नुपर्ने कुरा थुप्रै हुनेरहेछ’

सुमन आचार्य, अध्यक्ष, विवेकशील नेपाली दल मकवानपुर

विवेकशील नेपाली दल मकवानपुरले केही दिनअघि मात्रै भर्चुअल माध्यमबाट जिल्ला सम्मेलनको आयोजना गरेर जिल्ला तदर्थ समिति गठन गरेको छ । २०७४ सालको निर्वाचनमा निक्कै चर्चामा रहेको विवेकशील साझा दल निर्वाचनमा सुखद् परिणाम हासिल गर्न नसके पनि सम्मानजनक मतको हकदार बनेको थियो । तर, निर्वाचनअघि विवेकशील नेपाली दल र साझा पार्टी बीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टी निर्वाचन सकिएको केही समयमै फेरि फुटको स्थितिमा पुगेको थियो । पार्टी फुटेको निक्कै समयपछि मकवानपुर जिल्लामा विवेकशील नेपाली दलले तदर्थ समिति गठन गरेको छ । विवेकशील नेपाली दल मकवानपुरको तदर्थ समितिको अध्यक्षमा निर्वाचित हुनुभएका सुमन आचार्यसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः विवेकशील नेपाली दलको अहिलेको मुख्य एजेण्डा के हो ?
आचार्यः वैकल्पिक राजनीतिलाई मूलधारमा स्थापित गर्ने नै मुख्य एजेण्डा हो । अब कुनै पनि दलले आफूलाई प्रष्ट गर्न नसकिरहेको अवस्थामा विवेकशील नेपाली दलले हामी वैकल्पिक शक्तिको प्रतिनिधित्व गर्न सक्छौं । अब आउने दलहरुमा पुराना दलहरुलाई विस्थापित गर्न विवेकशील नेपाली दल जस्तो हुनुपर्छ र अबको वैकल्पिक शक्ति भनेको नै विवेकशील नेपाली दल हो भनेर प्रष्ट गर्न यो दल अहिले लागीपरेको छ ।

समाजः वैकल्पिक शक्तिको कुरा गर्नुभयो । गएको निर्वाचनपछि विवेकशील पार्टी फुट भयो कहिँ कतै देखिएन त्यसपछि । अहिले तदर्थ समिति बनेको छ । के जनताले अब विश्वास गर्न सक्छन् त ?
आचार्यः राजनीतिक दल पनि परिपक्क हुन अन्य प्राणीजस्तै केही समय लाग्छ नै । वैकल्पिक राजनीतिको हामीले रहर त गर्‍यौं । तर राजनीतिमा केही दाउपेच हुँदारहेछन् । राजनीतिमा पनि सिक्नुपर्ने कुरा थुप्रै हुनेरहेछ । यो वैकल्पिक राजनीतिको हुटहुटी हाम्रो मनमा त थियो नै तर त्यसको लागि पर्याप्त आधार भने हामीले विकास गरिसकेका थिएनौं । यसकारण हामी त्यो बेला विवेकशील साझासँग मिलेका थियौं । मिलेर जान पाएको भए अझै राम्रो थियो । वैकल्पिक शक्ति बन्ने परिपक्कको आधार त्यो बेला बनिसकेको थिएन ।

समाजः के जनताले विवेकशील नेपाली दल वा साझा दुबैलाई वैकल्पिक शक्तिको रुपमा हेर्ने आधार छैन या त्यो परिपक्वता अझै बनिसकेको छैन ।
आचार्यः यस्तो विलकुल होइन । समयसँगै सिक्दै जाने कुरामा हामीले पनि थुप्रै चोट, हण्डरहरु खायौं । यो फुटपछि एउटा नकारात्मक सन्देश पनि गयो । हामीले गाली पनि पायौं विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालहरुबाट । हामीलाई विश्वास गरेर मत दिनुभएकाहरुबाट हामीले गाली पनि खायौं । यो एक किसिमले हामीले गल्ति पनि गरेका हौं । यसकारण हामीले धेरै कुरा सिक्यौं पनि । सिकेर हामीले अझ पार्टीलाई सुधार गर्दै पनि लगेका छौं । यही बीचमा विवेकशील नेपाली दलले आफ्नो नीतिहरु पनि प्रष्ट रुपमा कोरेको छ । यो पहिलो पटक नीति सम्मलेन गरेर सार्वजनिक भएको छ । नेपालको सन्दर्भमा आजसम्म कुनै पनि दलले यस्तो नीतिको लागि सम्मेलन गरेको सुनेको पनि छैन । इतिहासमा पनि छैन । यो पहिलोपटक भएको छ । आफ्नो विचारमा प्रष्टता ल्याउँदै हामी वैकल्पिक मात्र भनेर पनि भएन वैकल्पिक पनि कुन धारमा हिँड्छ त । यसले समाजको कुन पक्षलाई प्रतिनिधित्व गर्दछ । भोलि सत्तामा आए भने समाजको मोडल कस्तो बनाउँछ भन्नेमा हामी अस्पष्ट थियौं भने त्यसलाई हाम्रो नीति सम्मेलनले स्पष्ट पारेको छ ।

समाजः नेपाली जनताले विवेकशील दल सुध्रँदै छ, परिपक्क हुँदैछ भनेर कसरी विश्वास गर्ने त अब ?
आचार्यः यसका लागि हेनुपर्ने आधार भनेको त एउटा हाम्रो विधान पनि हो । विधानमा पनि भिन्नता छन् । अर्को कुरा भनेको त हाम्रो गतिविधि नै हो । पार्टीमा सम्बद्ध व्यक्तिहरुको आचारण, उहाँहरुले गर्ने क्रियाकलाप, उहाँहरुले गर्ने सामाजिक अभियान, सामाजिक विषयवस्तुमा उहाँहरुको धारणा, यस्तै विषयहरु नै हुन हामीलाई एक पटक मौका दिने या नदिने भन्ने ।

समाजः विवेकशील नेपाली दलमा आबद्ध नेता कार्यकर्ताहरुको संख्या कति छन् जुन जनताले तपाईहरुलाई मूल्याङ्कन गर्न सकोस् ?
आचार्यः हामी क्रमशः विस्तार हुँदैछौं । बढ्ने क्रममै छौं । सानो टिम छ तर धेरै सानो पनि होइन । टुट्ने फुट्नेले गर्दा पनि कम भयो । सानो टिम भएपछि थुप्रै काममा व्यस्त भइयो । पर्याप्त कार्यकर्ता चै अझै पनि छैन ।

समाजः विवेकशील नेपाली दलको अबको रणनीति र कार्यहरु के–के हुनेछन् ?
आचार्यः उम्मेदवारी दिनुमात्र आफैंमा पर्याप्त हुँदैन । हाम्रा उम्मेदवारीका आधारहरु के हुन त । किन हामीलाई भोट हाल्ने त जनताले भन्नका लागि हाम्रा अभियानहरु पनि सँगसँगै लैजाँदै गर्ने । हाम्रा अभियानहरु चाहीँ देखाउनका लागि मात्रै नभएर बरु थोरै गर्ने एउटा क्षेत्रमा मात्रै गर्ने परिणाम दिर्ने प्रकृत्तिको गर्ने । न कि विज्ञापन टाइपको ।

समाजः मकवानपुर जिल्लाको निर्वाचित अध्यक्ष रहनुभएको छ । विवेकशील नेपाली दलले स्थानीय सरकारको गतिविधिहरुलाई कसरी हेरिरहेको छ ?
आचार्यः स्थानीय सरकारको गतिविधी पनि परम्परागत भन्दा खासै फरक हुन सकेको छैन । विकास निर्माणका काममा बढी केन्द्रित छ । वर्षभरि काम नगर्ने असार लाग्नलागेपछि सबैमा हात हाल्ने । मुख्य काम विकासमा तर पर्याप्त रुपले सही समयमा काम सकिन सकेको छैन ।

समाजः स्थानीय सरकारको निगरानी गर्ने संयन्त्र पार्टीमा निर्माण भएको छ कि छैन ?
आचार्यः हामीले नगरपालिकाको गतिविधि नियाल्नका लागि सूचनाको हक सम्बन्धी निवेदन दिएका थियौं । हामीले फलोअप गरिरहँदा पनि त्यति सूचना चै दिनुभएन । यसका लागि अगाडि हामीले प्रक्रिया बढाउन सकेनौं । प्रचारात्मक नभएर परिणाममुखी भएर काम गर्ने हाम्रो पार्टी हो । सबैतिर हात हाल्ने पुराना दलले जस्तो गएर ज्ञापनपत्र बुझाएर फोटो खिचाएर पत्रिकामा दिने तर परिणाममा चै हाम्रो जिम्मेवारी सकियो भनेर पन्छिने यस्तो खालको गतिविध गर्ने हाम्रो रहर छैन ।

Exit mobile version