Home अन्तरवार्ता “ऋणमा रहेको अवस्थामा हामीलाई मर्माहत तुल्याएको छ”

“ऋणमा रहेको अवस्थामा हामीलाई मर्माहत तुल्याएको छ”

रामचन्द्र न्यौपाने, कार्यालय प्रमुख सहिद स्मारक विकास समिति

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण पर्यटन व्यवसायी ठप्प प्रायः छ । पर्यटकीयस्थलहरु सुनसान छन् । देशमै नमूनाको रुपमा स्थापित हेटौंडाको सहिद स्मारक पनि कोरोना महामारीको गम्भीर प्रभावमा परेको छ । कोरोना कहरकै विषयमा रहेर सहिद स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः लकडाउनको अवधिमा पर्यटकीय स्थल सुनसान छन् । सहिद स्मारक विकास समितिले सहिद स्मारकको व्यवस्थापन कसरी गरिरहेको छ । लकडाउनको अवधिका समस्या समाधानको योजना के बनाउँदै हुनुहुन्छ ?

न्यौपानेः लकडाउन एकदम अप्रत्यासित रुपमा भयो । हाम्रो निरन्तर आम्दानीको स्रोत भईरहने र विकास निर्माणका कामहरु हामीले नितरन्तर कुनै पनि नरोकी गरिरहने अवस्था हो । यो लकडाउन अप्रत्यासित हुँदाखेरी हामीले आधिजति कर्मचारीलाई विदामा राखेर ढोका बन्द गरेर भित्रभित्र केही निर्माणका कामहरु गर्दै रह्यौं । असार मसान्तसम्म त्यस्तै गर्दाखेरी लकडाउन खुल्ने अवस्था बनेन जसले गर्दा हामीलाई मर्माहतै बनायो । हामी यो वर्ष आर्थिक रुपमा विपन्न बन्यौ । प्रत्येक वर्ष सहिद स्मारकबाट एक, डेढ करोड रुपैयाँ आम्दानी हुने गर्दथ्यो । यस वर्ष विशेषगरी पर्यटन वर्ष मनाउने सन्दर्भ लगायत निर्माण भएको प्रजान्त्रितक पार्क विधिगत सम्मानीय राष्ट्रपति ज्यूबाट उद्घाटन गर्ने सन्दर्भमा हामीले व्यापक लगानी गरेर विभिन्न निर्माण कामहरु गर्‍यौं । ऋणमा रहेको अवस्था अप्रत्यासित लकडाउन हुँदा हामीलाई मर्माहत तुल्याएको छ । लकडाउन खुले पनि साविकको जस्तो आम्दानी हुने अवस्था कम छ ।

समाजः अहिले पर्यटकहरुको उपस्थिती व्यवस्थापनका हिसाबले कसरी चलाइराख्नु भएको छ ?

न्यौपानेः अहिले विशेषगरी जिल्ला बाहिरबाट पर्यटकहरु आएका छैनन् । स्थानीय र हेटौंडा बजारतिरका पर्यटकहरु आउने कारणले गर्दा बाहिर साबुन पानीले हातधुने व्यवस्था, सकेसम्म माक्स लगाएर भित्र प्रवेश गर्ने, ठूला कार्यक्रमहरु गर्न नपाउने गरी प्रवेश गराई रहेका छौं ।

समाजः अहिले विदाको समयमा के कति पर्यटक छन् र अरु सामान्य दिनमा के कति पर्यटक आइरहेका छन् ?

न्यौपानेः हामीले दुई वटा शनिबार चलायौं । दुईवटा शनिबार चलाउँदा लगभग अघिल्लो शनिबार स्थानीय बाहेक टिकट काट्ने ३ सय हाराहारीमा पर्यटकहरु आएका थिए । दोस्रो शनिबार ४ सय पर्यटकहरु आए ।

समाजः पर्यटकलाई आकर्षण गर्ने, त्यहाँ सुरक्षित ढङ्गले भ्रमण गराउने गरी कस्तो रणनीति र योजनाहरु बनाउनु भएको छ ?

न्यौपानेः खासै त्यस्तो योजना छैन । अहिले हामी यो बीचमा अस्तव्यस्त रह्यो । हामीले फुलैफुलको सुन्दर र मुलुकको एउटा नमूना रुपमा विकास भईरहेको सहिद स्मारक आकर्षक थियो । यो लकडाउनको अवधिमा हामीले त्यसलाई मर्मत सम्भार र रङ्ग रोगन गर्न नसकेको अवस्थामा अस्तव्यस्त छ । अहिले बिदा बसेका कर्मचारीहरुलाई बोलाएर आकर्षक बनाउने, गेट व्यवस्थापन गर्ने कामहरु गरिराखेका छौं ।

समाजः आर्थिक व्यवस्थापनका लागि के प्रयत्न गर्नुभएको छ ?

न्यौपानेः खासै त्यस्तो प्रयत्न गरेको छैन । हामीले सकेसम्म यसबाटै केही गरेर व्यवस्थापन गर्ने, यसमा कमाइ गरेर अलिअलि खर्च व्यवस्थापन गर्दै जाउँला भन्ने हाम्रो विचार रहेको छ ।

समाजः सहिद स्मारक खुल्यो भनेर पर्यटकलाई जानकारी गराउने गरी त्यस्तो अभ्यास के गर्नुभयो ?

न्यौपानेः त्यस्तो कुनै अभ्यास गरिएको छैन । वास्तवमा अझै पनि यस्ता स्थलहरु खोल्ने कुरो भइसकेको छैन । कतिपयले यसको आलोचना गरिरहेको छ । यो आलोचना गरिरहेको अवस्थामा सामान्य आउने जानेको लागि मात्र खुलेको हो । प्रचार प्रसार गरी खुलेको अवस्था छैन ।

समाजः त्यहाँ धेरै भिडभाड हुने स्थिति रह्यो भने तपाईहरुले के गर्नुहुन्छ ?

न्यौपानेः अहिले भिडभाड हुने सम्भावना छैन । यो कोरोनाको कारणले गर्दा मानिसहरु बाहिरबाट आउने सम्भावना छैन । आन्तरिक पर्यटकको रुपमा जिल्लाका मान्छेहरु आउने हुन् । त्यस्तो पहिला जस्तो व्यापक भिडभाड हुुने सम्भावना देखिँदैन ।

समाजः केहीको रोजगारी गुमेको छ । उहाँहरुको जिविका कसरी चल्ने देख्नु भएको छ ?

न्यौपानेः त्यहाँ प्रत्यक्ष रुपमा २ सयभन्दा बढी मानिसहरुले रोजगारी पाएका थिए । त्यहाँका व्यवसायीहरु र हाम्रो कर्मचारीहरु र करारमा रहेका कर्मचारी गरी करिब २ सयले रोजगारी पाएको अवस्था थियो । लकडाउनको २/३ महिनाको अवधिलाई विदामा बसेका कर्मचारीलाई दिने आधा तलब भन्ने कुरा गरेका छौं । आधा कर्मचारी कटौति गरेका छौं ।

समाजः मुख्यमन्त्री नै अध्यक्ष हुनुहुन्छ । अहिलेको समस्या समाधान गर्न मुख्यमन्त्रीले केही गर्नुभएको छैन ?

न्यौपानेः प्रदेश सरकारको तर्फबाट अनुदान दिने भन्ने कुरा हो । अनुदान दिन नमिल्ने भन्ने अवस्था रहेछ । कुनै निर्माणको सन्दर्भमा सहिद स्मारकमा खर्च गर्न लगानी गर्ने अवस्था हुने भएकोले अहिलेको समस्यामा समाधानका लागि केही गर्न नसकिएको अवस्था छ । त्यसकारणले हामीले आगामी दिनमा आउने पर्यटकहरुबाट कमाई गरेर अहिलेको घाटाको अवस्थालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

Exit mobile version