हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना भएको छ । आज दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ । चालकको भने उद्दार गरेर उपचारका लागि हेटौंडा अस्पताल ल्याइँदै गरेको छ भने अन्यको उद्दारमा प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका छन् । प्रहरीका अनुसार सुमोमा चालकसहित ७ जना सवार थिए ।