हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले आयोजना गरेको नवोदय नमूना संयुक्त राष्ट्रसंघीय महासभा सकिएको छ । बिहीबारदेखि सुरु भएको नमूना अभ्यास शनिबार सकिएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नवोदयले भर्चुअल माध्यमबाट महासभाको आयोजना गरेको हो ।
विद्यालयले डेढ महिनादेखि नमूना राष्ट्रसंघीय महासभाको आयोजनाको तयारी गरेको थियो । १६ जना विद्यार्थीले विभिन्न मुलुकको प्रतिनिधिको रुपमा सहभागिता जनाएका थिए । नमूना राष्ट्रसंघीय महासभाको महासचिवको भूमिका राधाकुमारी महत्तोले निर्वाह गरेकी थिइन् । पहिलो दिनको सेसनमा सम्पूर्णलाई प्रतिनिधिलाई स्वागत गर्नुका साथै तीन सेसनमा विविध कार्यक्रम भएको थियो । नमूना महासभामा चारवटा समिति गठन गरिएको थियो । विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम, सुरक्षा परिषद् र आर्थिक परिषद् गरी चारवटा समितिले आआफ्ना प्रस्तुती राखेका थिए ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीलाई प्रमुख मुद्दा बनाएको थियो भने संयुक्त राष्ट्रसघीय वातावरणीय कार्यक्रमले विश्व तापमानमा भइरहेको वृद्धि र यसले दीगो विकासमा पारिरहेको असरलाई मुद्दाको रुपमा प्रस्तुत गरेको थियो । यसैगरी सुरक्षा परिषद्ले आतंकवादी हमला र विश्व सुरक्षा चुनौतिलाई मुद्दा बनाएको थियो भने आर्थिक परिषद्ले विश्वको आर्थिक अवस्था लगायत आर्थिक अवस्थालाई अहिलेको महामारीमा कसरी व्यवस्थित बनाउने भन्ने विषयलाई प्रमुख मुद्दा बनाएको थियो ।
नमूना महासभामा मोडरेट ककस, अनमोडरेट ककस, जेनेरल स्पिकर लिस्ट, वादविवाद जस्ता तर्क उठाएर वृहत छलफल भयो । हरेक कमिटीमा यस्ता छलफल गरेर समस्याको समाधानसम्बन्धी घोषणापत्र जारी गरिएको छ । नमूना महासभामा सहभागी चारवटा समूहका विद्यार्थीलाई पुरस्कृत समेत गरिएको विद्यालयले जनाएको छ ।