हेटौंडाः मकवानपुरका ईन्जिनियरहरु संगठित भएका छन् । शनिबार मकवानपुरको पर्यटकीयस्थल हेटौंडा–११ स्थित सहिद स्मारकमा हेटौंडा उपमहानगरपालिकाबाट सेवानिवृत्त हुनुभएका ईन्जिनियर विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा भएको भेलाले मकवानपुर क्रियाशील ईन्जिनियरिङ कन्सल्टेन्सी संघ गठन गरिएको छ ।
भेलाले सचित श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय संघ गठन गरेको छ । संघको उपाध्यक्षमा आङ्मो घले, महासचिवमा सन्तोष राना मगर, कोषाध्यक्षमा अस्मिता श्रेष्ठ, उपसचिवमा सौरभ सुवेदी चयन हुनुभएको छ । भेलाले सदस्यमा कमल थापा मगर, आशिष राजथला, नितेश अमात्य, अनिल बानियाँ, रुपक सुवेदी र सम्पूर्ण प्रधानलाई चयन गरेको छ । जिल्लाको उत्तरीक्षेत्र, पश्चिम क्षेत्रमा रहेका ईन्जिनियरलाई पनि समेटेर संघ गठन गरिएको नवनिर्वाचित अध्यक्ष सचित श्रेष्ठले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका सदस्य रामचन्द्र न्यौपानेको पनि आतिथ्य रहेको भेलाले सल्लाहकारमा सगुन श्रेष्ठ, रवि आचार्य, रवि रेग्मी र रामकृष्ण श्रेष्ठलाई चयन गरेको छ ।
मकवानपुर जिल्लामा ७० भन्दा बढी संख्यामा ईन्जिनियरिङ कन्सल्टेन्सीको काम गर्ने कम्पनि रहे पनि अहिले करिब ३० वटा कम्पनिबाट प्रतिनिधित्व रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । प्राविधिक जनशक्तिको रुपमा ईन्जिनियरहरु संगठित भएर पेशागत सुरक्षा, हकहित र ईन्जिनियरिङ क्षेत्रको विकासमा काम गर्न संघ गठन गरिएको उहाँको भनाइ छ । संघले अब बागमती प्रदेशस्तरीय समिति गठन गर्ने र अन्य जिल्लाका ईन्जिनियरहरुलाई पनि संगठित गर्ने श्रेष्ठले बताउनुभएको छ ।