हेटौंडाः हेटौंडा बजारमा दशै लक्षित सहुलियत पसल भोलि आइतबारबाट सञ्चालनमा आउने भएको छ । हेटौंडाको बुद्धचोक नजिकैको चन्दन मिनि मार्केटमा सहुलियत पसल सञ्चालनमा आउने भएको हो ।

साल्टट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले सञ्चालन गर्न लागेको सहुलियत पसलमा यो पटक नुन र चिनी मात्र सर्वसाधारणले सस्तोमा पाउनेछन् । साल्टट्रेडिङ कर्पोरेशन मकवानपुरका प्रमुख शैलेश पाण्डेका अनुसार प्रतिव्यक्ति नुन र चिनी ४/४ किलो मात्र खरिद गर्न पाइन्छ । नुन प्रतिकिलो १८ रुपैयाँको दरले र चिनी प्रतिकिलो ७० रुपैयाँको दरले बिक्रि गरिने प्रमुख पाण्डेले बताउनुभयो ।

हाल चिनी भने उपलब्ध नभएका कारण आइतबारबाट नुन मात्र बिक्रि गरिने र पछि चिनी आएपछि दुवै बिक्री गरिने उहाँले बताउनुभयो । अघिल्लो वर्षमा सञ्चालित सहुलियत पसलमा नुन, चिनी, मैदा, पिठो लगायत बिक्रिको लागि राखिएको थियो । यो पटक भने कोभिडका कारण नुन र चिनीमात्र सहुलियत पसलमा राख्न लागिएको साल्टट्रेडिङ कर्पोरेशन मकवानपुरका प्रमुख शैलेश पाण्डेले जानकारी दिनुभयो ।