हेटौंडाः कोरोना भाइरस संसारभर महामारीको रुपमा विस्तार भइरहेको छ । कोरोना महामारी नियन्त्रणमा नेपालमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीरता देखाउन सकेको छैन । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लामा महामारीको समयमा कोरोना परीक्षण प्रयोगशालाको सेवामा मनलाग्दी छ । स्थानीय सरकारले सञ्चालन गरेको स्वाब संकलन केन्द्रमा नगरवासीले नै स्वाब राख्ने भिटिएम खरिद गर्नुपर्ने बाध्यता छ ।

संक्रमितको व्यवस्थापनमा पनि गम्भीरता देखिँदैन । संक्रमित व्यक्तिको आइसोलेसन पनि मनलाग्दी छ । संक्रमित भएका भनिएको व्यक्तिका बारेमा स्थानीय या प्रदेश सरकारको कुनै पनि निकायका कोही कसैले सोधीखोजी गर्ने अवस्था छैन । संक्रमितको संख्या बढेसँगै स्वाब परीक्षण गर्नेको चाप बढेको छ । संक्रमितकै व्यवस्थापनमा ध्यान दिन नसकेको सरकारले संक्रमितको सम्पर्कमा आएकाहरुको विषयमा खोजी गर्ने अवस्था पनि छैन ।

हेटौंडा उपमहानगरपालिकामा अहिलेसम्म २ सय जनाभन्दा बढीले आफैंले भिटिएम खरिद गरेर स्वाब सङ्कलन गराएको आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताउनुभयो । अन्य स्थानीय तहहरुले भने भिटिएमको अभाव हुँदा आइसोलेसनलाई खरिद गरेर उपलब्ध गराएको उहाँ बताउनुहुन्छ । हेटौंडा उपमहानगरपालिकाले पनि भिटिएम उपलब्ध गराएको तर स्वाब सङ्कलन गर्नेको संख्या धेरै हुँदा स्वाब सङ्कलन गराउन आउनेहरुलाई नै किन्न लगाइएको प्रमुख चौलागाईले बताउनुभयो ।

भिटिएम उपलब्ध गराउँदै आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले भने अबको १० दिनसम्म यस्तै समस्या रहने बताएको छ । जिल्लाका अन्य पालिकाहरुले आफैले भिटिएम उपलब्ध गराएकोले समस्या नआएको तर हेटौंडामा समस्या देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो । स्वास्थ्य कार्यालयसँग भएको बजेटबाट यसअघि भिटिएम उपलब्ध गराउँदै आएको तर अहिले सकिएपछि भिटिएम अभाव भएको छ । बागमती प्रदेश सरकारले स्वास्थ्य सामग्री खरिद गर्न टेण्डर सम्झौता गरे पनि स्वास्थ्य सामग्री समयमा नआएका कारण भिटिएमको अभाव सिर्जना भएको उहाँले बताउनुभयो । सम्झौता भएको स्वास्थ्य सामग्री आएलगत्तै अभाव हट्ने उहाँको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाले १० दिनसम्मका लागि १ हजार भिटिएम उपलब्ध गराइदिने हो भने अहिले नगरबासीले आफैंले भिटिएम खरिद गर्न नपर्ने उहाँको भनाइ छ । बजारमा पैसा तिरेर सजिलै भिटिएम पाउन सकिने तर राज्यले निशुल्क भनेको कुरामा आफैले किन्नुपर्ने भएपछि स्वाब सङ्कलन गराउनेले पनि आक्रोश व्यक्त गरेका छन् । यद्यपि हेटौंडा उपमहानगरपालिकाले अझ धेरै भिटिएम उपलब्ध गराउने तयारी गरेको छ ।

हेटौंडा उपमहानगरपालिकामा कोरोना परीक्षण गराउनेको संख्या बढ्नुमा कोरोना बिमा पनि एक हो । हेटौंडा उपमहानगरपालिकामा अहिले सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्ने कार्य तिव्र छ । त्यस्तै अहिले १ लाखसम्मको कोरोना बिमा गर्नेहरु बढेसँगै कोरोना परीक्षण गराउन खोज्नेहरु बढेको गोरक्षेश्वर आइसालेसनका प्रमुख चौलागाईको भनाई छ । अहिले केही संख्यामा कोरोना परीक्षण गराउनेको संख्या घटेजस्तो देखिएपनि नगरमा परीक्षण गराउनेको संख्या बढेको छ । हेटौंडा उपमहानगरपालिकाबाट आइतबार साँझ ५ बजेसम्म ७ हजार ३ सय ५६ स्वाब नमूना सङ्कलन भएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकामा मात्रै १ हजार बढी सङ्क्रमित पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।