Home अन्तरवार्ता ‘विद्यालयले पूर्ण शैक्षिक सत्रको शुल्क लिनुहुन्न’

‘विद्यालयले पूर्ण शैक्षिक सत्रको शुल्क लिनुहुन्न’

राजु खतिवडा, सभापति, नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुर

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विद्यालयको गत शैक्षिक सत्रको अन्त्यमा पूर्ण रुपमा परीक्षा सञ्चालन हुनै सकेन । चालु शैक्षिक सत्रका गतिविधि ठप्प प्रायः छ । मकवानपुरका केही विद्यालयहरुले वैकल्पिक विधिमार्फत कक्षा सञ्चालन गरेपनि अधिकांश बन्द छन् । यस्तो अवस्थामा विद्यालयहरुले अभिभावकहरुसँग शुल्क पनि मागिरहेको छ । नयाँ शैक्षिक सत्र लागू भएपछि जिल्लाका निजी विद्यालयहरुले पनि शुल्क निर्धारण गर्न सकेको छैन । यसै सन्दर्भमा रहेर नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडासँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालयहरु करिब ७ महिनादेखि ठप्प छन् । न्यून संख्याका विद्यालयमा अनलाईन कक्षा भएको छ । विद्यालयको नियमित पठनपाठन प्रभावकारी रुपमा अगाडि लैजान के गर्न सकिन्छ भन्ने विद्यार्थी संगठनको धारणा छ ?
खतिवडाः विद्यालय, क्याम्पस पढ्ने समयका विद्यार्थीहरुमा विभिन्न मानसिक समस्याहरु देखिएको छ । विद्यालय पढ्न नपाउँदा, विद्यालय नखुल्दा, परीक्षा हुने हो कि नहुने, आफ्नो भविष्यको चिन्ता विद्यार्थीहरु गरिरहेका छन् । यस्तो अवस्थामा हामी नेवि संघ लगातय सम्पूर्ण विद्यार्थी संगठनहरु मिलेर विद्यार्थीलाई कसरी शिक्षाको दायरामा ल्याउने भन्नेबारे सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छौं । विद्यार्थीहरुलाई हामीले कुनै न कुनै रुपमा शिक्षासँग जोडिन पहल गरेका छौं । अभिभावकहरुलाई आग्रह गरेका छौं । जनचेतनामुलक कार्यक्रमहरु पनि गरेका र्छौं । सहरका विद्यालयहरु अनलाइनबाट विद्यार्थीहरु जोडिएका छन् तर ग्रामिण भेगका विद्यार्थीहरुलाई अन्य विधिबाट विद्यालयसँग जोडिनुपर्छ भन्नेका साथ हामी लागिरहेका छौं । सोही अनुसार हाम्रो क्रियाकलापहरु अगाडि बढिरहेको छ ।

समाजः अहिलेको स्थितिमा सरकारले सिकाई सहजीकरण निर्देशिका ल्याएको छ । सबै स्थानमा इन्टरनेटको पहुँच छैन । साधन पहुँचको हिसाबले हेर्दा के गर्दा चाहि शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन सकिन्छ ?
खतिवडाः अहिले इन्टरनेट उपलब्ध हुने स्थानमा अनलाइन कक्षा सहज देखिएको छ । इन्टरनेट उपलब्ध नहुने स्थानमा प्रत्यक्ष शिक्षक घरघरमा पुगेका छन् । विद्यालयमा बोलाएर भने पनि दूरी कायम गरेर पढाएका छन् भने रेडियो, टिभीलाई पनि माध्यम बनाएका छन् । यसरी हेर्दा इन्टरनेट नभएको स्थानमा घरघरमा शिक्षक, तथा आमसञ्चार माध्यमसँग जोडेर शैक्षिक क्रियाकलाप गर्नु उपयुक्त हुन्छ भने सिफ्टमा पनि विद्यालयहरु सञ्चालन गर्न सकिन्छ ।

समाजः ग्रामिण भेगका न्यून विद्यार्थी संख्या भएको विद्यालयहरुमा फरक–फरक दिन विद्यार्थीलाई बोलाएर पठनपाठन गर्न सकिन्छ भन्नुभयो । यसका लागि विद्यार्थी संगठनले सहजीकरण गरिदिन सक्छ ?
खतिवडाः हामीले त आव्हान गरिसकेका छौं । कोभिडले प्रभाव पारेको स्थानलाई हेरेर कम प्रभाव भएको स्थानमा आलोपालो विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर । तर सहरी क्षेत्रमा भने कोभिडको प्रभाव धेरै भएको स्थानमा यो उपयुक्त हुन्न । ग्रामिण भेगको कम असर परेको स्थानमा भने बिहान, दिउँसो, साँझ दुई/तीन सिफ्टमा पठनपाठन सञ्चालन गर्न सकिन्छ । यसका लागि हामी विद्यार्थी संगठनले सहजीकरण गरिरहेका छौं ।

समाजः पछिल्लो समय विद्यार्थी संगठनले स्थानीय सरकारको ध्यानाकर्षण पनि गराइरहेको छ । स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न कस्तो पहल गरेको देख्नुभएको छ ?
खतिवडाः स्थानीय सरकार पनि अहिले अन्योलमा देखिएको छ । संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा शिक्षा क्षेत्र कसले हेर्ने भन्ने ठोस निर्णय छैन । स्थानीय सरकार विद्यालय र विद्यार्थीसँग मात्र सरोकार राख्ने नभएर धेरै कुराहरुसँग सरोकार राख्ने हुँदा त्यति ध्यान दिएको छैन । यस्तै पूर्व जिल्ला शिक्षा कार्यालय अहिलेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले पनि त्यति तदारुकता देखाएको छैन । हामीले प्रमुख जिल्ला अधिकारीको पनि ध्यानाकर्षण गराएका छौं । शिक्षा क्षेत्र हेर्ने निकायले तदारुकता नदेखाएका कारण उल्लेख्य केही भएको छैन ।

समाजः संस्थागत विद्यालय सधैंजसो विवादमा देखिएको छ । अनलाइन कक्षा, शूल्क उठाउने नै गरेको देखिएको छ । विद्यार्थीले तिर्न नसक्ने र विद्यार्थी संगठनले यसको विरोध पनि गरिरहेको छ । संस्थागत विद्यालयमा देखिएको समस्याहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
खतिवडाः अहिले संस्थागत विद्यालयहरुले अनलाइन कक्षाको नाममा मनपरी ढंगले शुल्क उठाउन थालेको पाइएको छ । भर्ना गराउने गरिएको छ । अभिभावकहरुलाई १५ गतेसम्म भर्ना गर्ने अन्तिस समय भन्दै त्रसित बनाउँदै भर्ना गर्न लगाइरहेका छन् । अनलाइन शिक्षा लिइरहँदा त्यसको चर्को शुल्क तिर्न अभिभावक बाध्य छन् । अनलाइन कक्षा लिएर पूरै शूल्क लिन नहुने हाम्रो उठाएको आवाज हो । कोभिडका कारण अहिले एकतर्फी रुपमा शुल्क लिइरहेको छ । पूर्ण शैक्षिक सत्रको शुल्क लिनुहुन्न भन्ने हाम्रो माग हो । यो हामी कदापि हामी हुन दिन्नौं । स्थानीय सरकारले हाम्रो कुरा सुनेको देखिएन । अभिभावकहरुको साथमा हामी सडकमा आउनेछौं । यसको तयारी हामीले गरिरहेका छौं ।

Exit mobile version