पक्राउ परेका कपिलदेव महत्तो ।

हेटौंडाः बारा प्रहरीले आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा वारदातपश्चात फरार रहेका बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय कपिलदेव महत्तोलाई पक्राउ गरेको हो ।

केहीदिन अघि नेपाल आएर पुनः सक्रिय रहेको र लुकिछिपी आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले प्राविधिक रूपमा समेत निगरानी गरी मंगलबार राती १० बजे महतोलाई पक्राउ गरेको जनाएको छ । महतोलाई इलाका प्रहरी कार्यालय प्रसौनी बारा र इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । प्रहरी कार्यालय बाराले कपिलदेव महतोलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बारा पठाउने कार्य भइरहेको जानकारी दिएको छ ।

सोही मुद्दामा बारा जिल्लामा ४ जना युवाहरु यसअघि नै पक्राउ परेर प्रतिवादीहरू पुर्पक्षका लागि बीरगंज कारागार कार्यालय चलान भएका छन् । बारा परवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही स्थानका २० वर्षीय देवशंकर राम, जीतपुर—सिमरा उपमहानगरपालिका वडा नम्बर २० का २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय दिपेन्द्र कुमार धानुकलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले बारा जिल्ला परवानीपुर गाउँपालिकामा एमएसइँट्टा उद्योगका सञ्चालकलाई फिरौती रकम माग गरेको र नदिएपछि इँट्टा उद्योग जलाएर फेरी परिवारलाई क्षती गर्ने धम्कीमा ३ लाख फिरौती मागेपछि फिरौती रकम लिन जाने क्रममा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो ।