नेपाल सरकारले २०७० सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन सुरु गरेको छ । आज असोज १ गते आठौं विज्ञान दिवस हो । आधुनिक समय विज्ञानको अध्ययन, अनुसन्धान र विज्ञानको उपयोगिता बिना कल्पना पनि गर्न सकिने अवस्था छैन । विज्ञानका नवप्रवर्तनले आधुनिक समाजलाई सरल मात्रै बनाएको छैन, उत्तिकै चुनौतिपूर्ण पनि बनाएको छ । सातौं राष्ट्रिय विज्ञान दिवसकै अवसरमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक राजकुमार गौतमसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः २०७० सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । नेपालमा यो दिवसको तपाई जस्ता विश्वविद्यालय तहमा अध्यापनरत व्यक्तित्वहरु र विद्यार्थीहरुका लागि कस्तो लाभको अवस्था हुन्छ ?
गौतमः २०७० सालबाट राष्ट्रिय विज्ञान दिवस मनाउने जुन सरकारले निर्णय गर्यो यसबाट यो विज्ञानसँग सम्बन्धी सबै विज्ञानका विद्यार्थीहरु एउटा नयाँ हौसला र ऊर्जा प्रदान गरेको छ ।
समाजः गतवर्ष बागमती प्रदेश सरकारले पनि हतार हतारमा भएपनि विज्ञान दिवस मनाएको थियो । यो वर्ष चाहीँ प्रदेश सरकारको तर्फबाट त्यस्ता केही कार्यक्रम भएको जानकारीहरु पाउनु भयो कि भएन ?
गौतमः गतवर्ष विज्ञान दिवस मनाइएको थियो । विज्ञान प्रदर्शनी पनि भएको हो । हामीलाई धेरै उत्साह पनि भएको थियो । हामीले त्यहाँ गएर कार्यपत्र प्रस्तुत गर्नेसम्मको कार्यक्रमहरु भएको हो । हामी अलिकति बढी उत्साहित भएको हो गतवर्ष । यस वर्ष कोभिडको कारणले सायद यस्ता खाले कार्यक्रम भएको जानकारी आएको छैन ।
समाजः हाम्रो जस्तो अविकसित मुलुकको सन्दर्भमा विज्ञान अध्ययन र अनुसन्धानमा के कस्ता क्रियाकलापहरु भईरहेका छन् र त्यसमा कस्ता सुधारको आवश्यकता देख्नु हुन्छ ?
गौतमः यसमा धेरै त नभनौं केही अध्ययन, अनुसन्धान भईराखेका छन् । विश्वविद्यालय तह अन्तर्गत हाम्रो जुन वैज्ञानिक अध्ययन, अनुसन्धानहरु छन् । ती कुराहरुलाई नीतिगत तहमा प्रयोग गरेको पाइएको छैन । नीतिगत वर्गले जुन वैज्ञानिकले अध्ययन गरेर निष्कर्ष निकालेको हुन्छ त्यो विज्ञानको विकासमा प्रयोग गर्न नसकेको जस्तो लाग्छ । मैले पनि बाहिर गएर अध्ययन गर्ने मौका पाएँ । त्यहाँ हेर्दाखेरी एउटा विश्वविद्यालय तहभन्दा तलको तहको स्नातक तहको विद्यार्थीहरुको अध्ययनलाई पनि त्यहाँ स्थानीय सरकारले आत्मसात गरेर त्यो अध्ययन, अनुसन्धान के हो त भनेर त्यसलाई पनि प्रयोगमा ल्याएको छ । यदि हामीले गरेका अध्ययन, अनुसन्धान हाम्रा नेपाली वैज्ञानिकहरुले गरेका विभिन्न खाले अध्ययन अनुसन्धानहरु छन् । त्यसलाई पनि सरकारले नीतिगत तहमा स्थानीय तहदेखि नै त्यसलाई खोजी गर्ने हो भने अझैपनि नेपालका वैज्ञानिकहरुले, विज्ञानका विद्यार्थीहरुले त्यस्ता खोजमूलक कार्य गर्न उत्साहित हुनेथिए ।
समाजः विद्यार्थीको हौसलाको कुरा जोड्नु भयो । विज्ञान विषयका अब्बल विद्यार्थीहरु विकसित मुलुक अमेरिका, यूरोप नै पलायन भएका र त्यतै स्थापित भएका देखिन्छ । उनीले नेपालमा अथवा देशमा विकास लागि विज्ञानको विकासमा भूमिका निर्वाह गर्न नसकेको देखिन्छ नि होइन ?
गौतमः प्रायःजसो विद्यार्थीहरु स्नातक तहको अध्ययन पूरा गरिसकेपछि नेपालमा केही हुन्न भन्ने विद्यार्थीहरुमा एक किसिमको भ्रण छ । तर पनि जुन यो सरकारले विज्ञान दिवस अहिले विज्ञानमा अलिकति बजेट छुट्याउने विज्ञान र प्रविधि नवप्रवर्तनका लागि बजेट छुट्याउने काम गरेको छ । त्यसले विस्तारै विद्यार्थीको पलायन हुने दरलाई रोक्छ । तर अहिलेसम्म त्यही नै हो । विदेश पलायनको क्रम जारी छ ।
समाजः तपाई मकवानपुर बहुमुखी क्याम्पसमा प्रध्यापनरत हुनुहुन्छ । मकवानपुर बहुमुखी क्याम्पस जस्ता शैक्षिक संस्थाले विज्ञान विषयको प्रवद्र्धन र विकासमा कस्तो भूमिका निर्वाह गरिराखेको छ ? भूमिका अझै बढाउन के गर्न जरुरी देखिनु हुन्छ ?
गौतमः मकवानपुर बहुमुखी क्याम्पस स्नातक तह विज्ञान पढाउने एउटा सामुदायिक क्याम्पस हो । बजेटको अभावका कारण विज्ञानको समुचित विकास हुन सकेको छैन । हामीलाई त्यस्ता आर्थिक सहयोगहरु कतैबाट नभएको र क्याम्पसको आयस्रोतबाट क्याम्पस सञ्चालन गर्नुपर्ने अवस्थाका कारण हामीले सोचेको जस्तो गर्न सकेका छैनौं । तर के छ भने यस्ता नेतृत्वदायी संस्थाहरुले जुन स्नातक तहसम्म विज्ञान विषय पढाउँछ । यस्ता संस्थाले विज्ञान सम्बन्धी प्रवर्धन कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ । अरुको नजरमा उदाहरण भएर हामीले नेतृत्व गर्नुपर्ने हो । आर्थिक अभावले गर्दाखेरी त्यसरी अगाडि बढ्न सकेका छैनौं ।