हेटौंडाः हेटौंडाको तरकारी बजारमा प्याजको मुल्य एक दिनमै प्रतिकेजी ४० रुपैयाँ बढेर प्रतिकेजी ९० रुपैयाँमा खुद्रा विक्रि भएको छ । हेटौंडाको तरकारी बजारमा मंगलबार प्याजको मुल्य प्रतिकेजी ५० रुपैयाँ रहेको थियो । भारतले प्याज निर्यातमा रोक लगाएसँगै देशव्यापी रुपमै प्याजको मुल्य बढेको छ । भारतले प्याज निर्यात गर्न रोक्दा बजारमा प्याजको अभाव हुने अनुमान गर्दै व्यवसायीले गोदाममा भएको प्याजको मूल्य पनि बढाएका छन् ।
केही समयअघि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यस पटक पनि भारतले निर्यातमा प्रतिबन्ध फुकुवा नगरेमा चाडपर्व समयमा प्याजको मुल्य आकाशिने भएको छ । हेटौंडा-१० स्थित तरकारी बजारमा बुधबार गोलभेडाको मुल्य प्रतिकेजी १ सय ३० देखि १ सय ५० सम्म विक्रि भैरहेको छ । पछिल्लो २/३ दिनमा गोलभेडाको मुल्यमा बृद्धि भएको तरकारी व्यवसायी बिनोद साहले जानकारी दिनुभयो । उहाँका अनुसार भिन्डीको मुल्य पनि बृद्धि भएको छ । भिन्डी बुधबार प्रतिकेजी ७० रुपैयाँमा विक्रि भएको छ ।
तरकारी बजारमा स्कुस र लौकाको मुल्य भने घटेको छ । लौका प्रतिकेजी ५० रुपैयाँ र स्कुस ३५ रुपैयाँमा विक्रि भएको छ ।हेटौंडाको तरकारी बजारमा केहि तरकारीहरुको मुल्य पछिल्लो एक सातादेखि समान रहेको छ । जसमा काउली प्रतिकेजी १ सय ६० रुपैयाँ, तने बोडी १ सय २० रुपैयाँ, बन्दा ६०, घिरौंला ३०, करेला ६०, धनिया १ सय २० देखि १ सय ४० सम्म, फर्सी ३०, रायोको साग र फर्सीको मुन्टा प्रतिमुठा ३०, पिरो खुर्सानी १ सय ४०, माछे खुर्सानी १ सय र भेडे खुर्सानी प्रतिकेजी १ सय २० मा खुद्रा बजारमा विक्रि भैरहेको व्यवसायी बिनोद साहले बताउनुभयो ।