हेटौंडाः बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । यसैगरी बुधबार नै बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले बताउनुभयो ।