हेटौंडाः बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको निजानन्दधाम पार्कको सोमबार एक समारोहका बीच सिलान्यास गरिएको छ । हेटौंडा–८, कमानेमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पार्ककको शिलान्यास गर्नु भएको छ ।

बागमती प्रदेश सरकारको २ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको पार्कमा सभाहलसहितको भवन निर्माण गरिनेछ । शिलान्यास कार्यक्रममा प्रमुख खुलालले धार्मिक पर्यटकीयस्थलका रुपमा उक्त क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मकवानपुरमा थुप्रै स्थानहरु धार्मिक पर्यटकीयस्थलका रुपमा विकासको सम्भावना रहेको भन्दै त्यस्ता स्थानहरुको क्रमशः विकास गर्दै जानुपर्ने समेत बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको भवन गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने कामना समेत गर्नुभयो । अन्तर्राष्ट्रिय रंगशाला, बुहप्राविधिक विश्वविद्यालय, सुरुङमार्ग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका काम सम्पन्न भएपछि मकवानपुर जिल्लाकै विकासले ठूलो फड्को मार्ने उहाँको भनाइ थियो । ३ बिगाहा छेत्रफलमा निर्माण हुने पार्कमा सभाहलसहितको ३ तले प्रदर्शनी भवन निर्माण हुनेछ ।

निजानन्द प्रतिष्ठानका संयोजक श्रीराम खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, उद्योगी बासु कार्की, तारा चौलागाई र श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य रामकृष्ण तिवारी र बद्रि प्रसाद चौलागाई, श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष अर्जुन वाग्ले लगायतका उपस्थिति रहेको निजानन्द प्रतिष्ठानका सदस्य सुजन तिमल्सिनाले जानकारी दिनुभएको छ ।