सम्मानित हुने जिल्ला अदालतको तामेली शाखाका कर्मचारीहरु ।

हेटौंडाः निजामति सेवा दिवसको अवसरमा आज उच्च अदालत पाटन हेटौंडा इजलासले दुई जना कर्मचारी र जिल्ला अदालत मकवानपुरले तामेली शाखालाई सम्मान गरेको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले शाखा अधिकृत राजकुमार लामिछाने र नासु प्रभाकर रेग्मीलाई सम्मान गर्ने निर्णय गरेको छ भने जिल्ला अदालत मकवानपुरले अदालतको म्याद तामेली शाखालाई सम्मान गरेको छ ।

आज राष्ट्रिय निजामती कर्मचारी दिवसको अवसरमा अदालतको म्याद तामेली शाखालाई उत्कृष्ट शाखा छनोट गरेर सम्मान गरिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । अदालतले शाखाका ११ जनालाई रु १० हजार रकम र प्रमाणपत्र प्रदान गरेर दिवस मनाएको हो । न्यायाधीश कमलराज विष्ट अध्यक्ष तथा श्रेस्तेदार तीर्थराज भट्टराई सदस्य रहेको २ सदस्यीय छनोट समितिले म्याद तामेली शाखालाई छनोट गरेर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश कमलराज विष्टले नगद १० हजार रुपैयाँसहित तामेली शाखाका कर्मचारीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । तामेली शाखाका प्रमुख नासु जयप्रकाश घिमिरे, तामेलदारहरू सूर्य बहादुर श्रेष्ठ, राजन अधिकारी, विश्वनाथ पौडेल, जीवनज्योति भण्डारी, विजय रिजाल, जनअधिकार रूम्बा, जयराम स्याङ्तान, सुशील पकुवाल, अनु थपलिया र विनोद आचार्य रहेका छन् ।