हेटौंडाः राष्ट्रिय जनगणना २०७८ को तयारी स्वरुप मकवानपुरमा नमूना (पाइलट) जनगणना गत असारमा सम्पन्न भएको थियो । मकवानपुरको ४ स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएकोे तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ मा, थाहा नगरपालिकाको २ नम्बर वडामा र इन्द्रसरोवर गाउँपालिकाको ५ नम्बर वडामा नमूना जनगणना भएको थियो । १ सुपरिवेक्षकसहित ४ जना गणकहरुले ४ वटा गणना क्षेत्रको ६ सय ३८ घरको जनगणना गरेका थिए । गत चैतमै गरिने नमूना जनगणना कोरोना भाइरसका कारण असारमा देशैभर भएको थियो । असारमा भएको नमूना जनगणनमा मकवानपुरको तथ्याङ्क ६५ प्रतिशत मात्र आएको तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत दासले बताउनुभयो । कोभिड–१९ को अवस्थामा भएको नमूना जनगणनामा सबै तथ्याङ्क आउन नसकेको हो ।

यस्तै ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने भएको छ । नेपाल राजपत्रमा राष्ट्रिय जनगणना २०७८ को एकीकृत प्रश्नावली यही भदौ १५ गते प्रकाशित पनि भएको छ । राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावलीमा घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सार्वजनिक गरिएको छ । पहिलो प्रश्नावलीमा सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण मार्फत प्रत्येक घर तथा परिवारमा पुगी सम्पूर्ण घरको प्रयोगसहित सङ्ख्या, घरको तला, परिवारको बैङ्क खाता, ऋणमा पहुँच, सरकारी अनुदानमा बनेको घर, व्यावसायिक तथा प्राविधिक शिक्षा वा तालिम, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य (महिला, पुरुष र अन्य लिङ्गी) सङ्ख्या र परिवाको कृषि सम्बन्धी लगायतका विवरणहरु सङ्कलन गरिनेछ भने दोस्रो तथा मुख्य प्रश्नावलीमार्फत परिवारिक विवरण र व्यक्तिगत विवरणहरु सङ्कलन गरिनेछ ।

पारिवारिक विवरणमा घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तिको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधाहरु आदीको विवरण सोधिनेछ । त्यसैगरी व्यक्तिगत विवरणमा घरपरिवका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर जातजाति, भाषा धर्म वैवाहिक स्थिति बालबालिका, अपाङ्गता, बसाईसराई, प्रजनन्, आर्थिक क्रियाकलाप लगायतका विवरणहरु सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण आगामी २०७८ साल वैशाख २६ गतेदेखि जेष्ठ १४ गतेसम्म २० दिन र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन हुने भएको छ ।

त्यस्तै तेस्रो प्रश्नावलीको विवरण सुपरिवेक्षकले प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको आधारभूत स्रोत, साधन क्षमता र पूर्वाधार सम्बन्धी विवरणहरु सङ्कनल गर्नेछन् । नेपालमा १९६८ साल (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार देशको कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । अब हुने १२ औं जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना हुनेछ ।