कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको मुख्य उपचार नै सावधानी हो । लाकडाउनमा नेपालमा कोरोना फैलिने क्रम निकै कम थियो भने पछिल्लो समय दैनिक हजारको सङ्ख्यामा सङ्क्रमण देखिएको छ । लकडाउन सकिनुलाई नागरिकले कोरोना नै सकिएको जस्तै व्यवहार गर्दा अहिले सङ्क्रमणबाट नेपाली समाज आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले त अब अस्पतालहरुमा वेड नै नपाउने र डाक्टरहरु समेतको अपुग हुने भन्दै चेतावनी दिइसकेको अवस्था छ । स्वास्थ्य मन्त्रालयको भनाइले पूरै समाज कोभिडबाट सङ्क्रमित भइसकेको अनुमान लगाउन सकिन्छ । दिन प्रतिदिन सङ्क्रमण बढ्दै जानुमा नागरिकले सावधानी नअपनाउँदाको परिणाम हो । लकडाउन खुकुलो हुनासाथ बजार पूर्णरुपमा खुल्नु र सावधानी बिना नै उपभोक्ताको उपस्थिति मुख्य कारण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नागरिकको गल्तीका कारण निषेधाज्ञा र लकडाउन गर्नु परेको स्पष्टीकरण दिएको छ । पक्कै पनि कोभिड सङ्क्रमण बढ्नुमा नागरिकको व्यवहार जिम्मेवार छ । तर राज्यले आफ्नो भूमिका निर्वाह गरेको छ कि छैन् ? भन्ने प्रश्न पनि नागरिकले गरिरहेका छन् । एक अर्कोमा आरोप लगाएर रोगसँग लड्न सकिँदैन । त्यसैले दुबै पक्षले आफ्ना कमजोरी सच्याउन ढिला गर्नु हुँदैन । नेपालमा अझ पनि ५० हजार भन्दा कम नै सङ्क्रमित छन् । तीन करोड जनसङ्ख्यामा सङ्क्रमितको सङ्ख्या धेरै होईन तर सावधानी नअपनाउने र जिम्मेवारी पन्छाउने हो भने सबै नेपाली सङ्क्रमित हुने खतरा देखिन्छ । त्यसैले राज्यले निर्धारण गरेका नियमहरु पालना गर्ने दायित्व नागरिकको हो भने नागरिकको जीवन रक्षाको जिम्मेवारी सरकारको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा केही खुकुलो गरेर निषेधाज्ञा जारी छ । तर स्थानीय प्रशासनले निर्धारण गरिदिएको समयका अतिरिक्त समयमा पनि नागरिकहरुको चहलपहल निक्कै बाक्लो छ । सरकारले गर्ने कडाई आफ्नै लागि हो भन्ने नबुझ्दासम्म नागरिकको व्यवहारमा सुधार हुने देखिँदैन । सरकारकै लागि मात्र होशियारी अनाउनु पर्ने जस्तो व्यवहार हुनु कोभिड सङ्क्रमण बढ्नुको मुख्य कारण बनेको छ । प्रशासनले पनि तोकिएको समय भन्दा अघि–पछि हुने सर्वसाधारणको चहलपहललाई नियन्त्रण गर्न आवश्यक पहल गर्नु आवश्यक छ । तर नागरिक अटेर गर्ने र प्रशासन पनि बेवास्ता गर्र्दै जाने हो भने हेटौंडामा महामारी थप भयावह हुने जोखिम छ । नागरिक स्वयम् जिम्मेवार छैनन् भने जिम्मेवार बनाउने दायित्व त सरकारकै हो नि ।
पसलमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कता पनि देखिँदैन । उपभोक्ताहरु ठेलमठेल गर्दै सामान छनौट गरिरहेका हुन्छन् । न त्यहाँ किन्नेलाई कोभिडको डर छ न बेच्नेलाई । यस्तै अवस्थाबाट कोभिडको महामारी फैलने हो । कुनै एक पक्षको असावधानीले सबै पक्ष सङ्क्रमित हुने अवस्था छ । त्यति मात्र होइन आईसोलेसनमा पनि सावधानी कत्तिको छ भन्ने प्रश्न उठ्ने गरेको छ । सरसफाईदेखि सङ्क्रमितहरुको बसोबासको उचित प्रबन्ध नहुने हो भने निको हुँदै जानेहरु पनि थप सङ्क्रमित हुने अवस्था नहोला भन्न सकिँदैन । तसर्थ पसल, बजार, उद्योगदेखि आइसोलेसन वार्डमा समेत सावधानी जरुरी छ । तर यस विषयमा नागरिकदेखि स्थानीय सरकार र प्रशासनले गम्भीरतापूर्वक लिएको देखिदैन । जसले थप जोखिम निम्तने खतरा यथावत छ । सतर्कतालाई थप बलियो बनाउन आवश्यक छ ।