हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको परेवाभीरमा बाटो बनाउन संघीय सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । मकवानपुरका राजनीतिक नेतृत्वबीच निक्कै चासो र चर्चाको विषय बनेको परेवाभीरमा बाटो बनाउन संघीय सरकारको अर्थमन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर २ करोड रुपैयाँ हस्तान्तरण गर्ने निर्णय भएको जानकारी गराएको छ ।
भदौ ९ गते मन्त्रीस्तरीय निर्णयबाट राक्सिराङ गाउँपालिकालाई २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । परेवा भीरमा ट्र्याक खोल्न गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा ६ करोड ६१ लाख ६९ हजार लागत अनुमान गरिएको छ । गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाएर बहुवर्षीय योजनाको रुपमा २ करोड रुपैयाँ बजेट समेत छुट्याएकोले संघीय सरकारले पनि बजेट उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।
परेव भीरमा बाटो बनाउने विषयमा सत्तारुढ नेकपाकै नेता र प्रतिपक्षी दलका नेताबीच नै आरोपप्रत्यारोप चलेको थियो । अहिले संघीय सरकारमार्फत २ करोड बजेट ल्याउन भने सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद विरोध खतिवडाले पहल गर्नुभएको बताइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र संघीय सांसद विरोध खतिवडाबीच परेवा भीरमा बाटो बनाउने र नबनाउने विषयमा पक्ष–विपक्षको स्थिति देखिएको छ । यता बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले परेवा भीरको बाटो बनाउन प्रदेश या संघीय सरकारले बजेट विनियोजन नगरे व्यक्तिगतरुपमै बजेट खर्चेर भए पनि परेवा भीरमा बाटो बनाउने बताउनुभएको थियो ।