हेटौँडा : चुरे क्षेत्रको विनाश रोक्न र राज्यलाई दबाब दिन ‘चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल’ले मेची–महाकाली जनजागरण यात्रा तथा हस्ताक्षर अभियान गर्ने भएको छ । जेठ १ गतेदेखि झापाको काँकडभिट्टाबाट यात्रा सुरु गरिने अभियानका अध्यक्ष सुनिलकुमार यादवले जानकारी दिनुभयो ।
‘प्रकृति जोगाऔँ, भविष्य बचाऔँ’ अभियानको नारा तय गरिएको छ । चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन र वन विनाशका कारण मधेश प्रदेशसहित सिंगो तराई क्षेत्र मरुभूमिकरण हुने जोखिम बढेकाले यसलाई रोक्न अभियान थालिएको उहाँले बताउनुभयो ।
अभियानको मुख्य एजेण्डा चुरे क्षेत्रमा भइरहेको अवैध गिट्टी–बालुवा उत्खनन र क्रसर उद्योगको नियन्त्रण, अतिक्रमित नदीनालाको संरक्षण र वनजंगल फडानी रोक्नु हो । यात्राको क्रममा चोकचोकमा पुगेर चुरे संरक्षणका लागि हस्ताक्षर संकलन गरिने र जनचेतना जगाउने अध्यक्ष यादवले बताउनुभयो ।
उहाँले जलवायु परिवर्तन र बढ्दो खानेपानीको संकटलाई ध्यानमा राखी २०७४ सालदेखि नै चुरे र वनजंगल जोगाउने अभियान सुरु गर्नुभएको हो । यसअघि उहाँले वीरगञ्जदेखि काठमाडौँसम्म ११ दिन र सप्तरीदेखि वीरगञ्जसम्म हुलाकी राजमार्गमा ११ दिन पैदलयात्रा गर्नुभएको थियो ।
यस्तै, २०८१ सालमा सप्तरीको भारदहदेखि काठमाडौँसम्म २५ दिने पैदलयात्रा गरी काठमाडौँमा १०२ दिनसम्म धर्ना दिँदा पनि सरकारले वास्ता नगरेको उहाँको गुनासो छ । आफूहरुले पटक पटक दबाबमूलक यात्रा तथा कार्यक्रमा गर्दा पनि सरकार चुरे संरक्षणको विषयमा गम्भीर नदेखिएको उहाँको भनाइ छ ।
मेची–महाकाली यात्राका क्रममा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च सबै जनस्तरबाट चन्दा संकलन गरेर व्यवस्थापन गरिने अध्यक्ष यादवले बताउनुभयो । चुरे क्षेत्रको विनाशले भविष्यमा निम्त्याउने भयावह संकटप्रति सचेत रहन र यो महाअभियानमा साथ दिन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।










