हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, चितवन र सिन्धुली जिल्लामा आइतबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१३, भित्रियामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय टिका सुनुवार रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो १ बजेको समयमा घरबाट हिँडेपछि टिकास सम्पर्कविहीन भएका थिए । उनलाई खोजी गर्ने क्रममा आइतबार बिहान ७ बजेर ३० मिनेटको समयमा डिलमुनी खोलाको १० मिटर तल घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै अवस्था बिग्रिएपछि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । उपचारका क्रममा दिउँसो १ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१७, गोब्रेनी मझुवास्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ६० वर्षीय गोपाल दराई रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो २ बजेको समयमा माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर गोपाल बेपत्ता भएका थिए । उनलाई खोजी गर्दै जाँदा आइतबार साँझ ५ बजेर ३० मिनेटको समयमा सोही क्षेत्रमा नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको निलकण्ठ नगरपालिका–९ मा एक वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ८२ वर्षीय मोतिलाल सार्की रहेको प्रहरीले जानकारी दिएको छ । सार्की बैशाख ६ गतेदेखि हराएका थिए । उनलाई खोजी गर्दै जाँदा आइतबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा निलकण्ठ नगरपालिका–११, सल्लाघारीस्थितको गोरेटो बाटोबाट ५० मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।











