विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सहभागीहरु ।

हेटौँडा : जुनसुकै सरकारले पनि आफू प्रतिपक्षमा रहँदा प्रेस स्वतन्त्रताको वकालत गर्ने र सत्तामा हुँदा निरंकुश बन्ने प्रवृति चलिआएको सरोकारवालाहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा पत्रकार महासंघ मकवानपुरको आयोजनामा आइतबार सम्पन्न अन्तरक्रियामा सहभागीहरुले प्रेस स्वतन्त्रताबारे धारणा व्यक्त गरेका हुन् ।

सहभागीहरुले पछिल्लो समय सरकारले निजी मिडियामा सरकारी विज्ञापन दिन रोक लगाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईले प्रेस स्वतन्त्रता दिवस प्रत्येक वर्ष मनाइने गरे पनि प्रेस भने हालसम्म स्वतन्त्र हुन नसकेको बताउनु भयो । उहाँले पहिले राजतन्त्रको समयमा मिडिया हाउसमै सेना रहेर सत्तापक्ष अनुकुल समाचार लेख्न लगाउने गरिएकोमा पछिल्लो समय अप्रत्यक्ष रुपमा सरकारले विज्ञापन रोकेर स्वतन्त्र प्रेस क्षेत्रलाई समस्यामा पारेको उल्लेख गर्नुभयो । पछिल्लो समय सत्तापक्षबाट आफु अनुकुल समाचार खोज्ने प्रवृत्ति बढ्दै गएको उहाँले आरोप लगाउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्टले पत्रकारिताले नागरिकको विषयमा स्वतन्त्र भई लेख्नुपर्नेमा सरकारबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्राप्त गर्न मात्रै पत्रिका प्रकाशन गर्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारितामा विकृति बढ्दै गएको बताउनुभएको छ । उहाँले लोकतन्त्रमा प्रेस स्वतन्त्रता प्राणवायु नै भएको उल्लेख गर्दै जिम्मेवार प्रेस सञ्चालनले मात्रै प्रेस स्वतन्त्रताको अभ्यास कायम रहने बताउनुभयो ।

पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहालले सञ्चार क्षेत्रमा भएका विकृत्तिलाई निरुत्साहित गर्न सरकारले नियमन गर्नुपर्ने आवश्यकता विपरित सरकारी विज्ञापन निजी मिडियालाई नदिने, समानुपातिक विज्ञापन खारेज गर्ने जस्ता नियन्त्रणमुखी कार्य गरेको बताउनुभयो । मिडियाकर्मी जिम्मेवार हुनुपर्ने आवश्यकतालाई पनि औँल्याउनु हुँदै मिडियालाई कमजोर बनाउनु भनेको नागरिक अधिकारलाई कुण्ठित गर्ने प्रयास भएको दाहालको भनाइ छ । बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठले विभिन्न तहमा रहेर काम गर्ने सञ्चारकर्मीसँग महासंघले अन्तरक्रिया गरेर जिम्मेवार पत्रकारिताको अभ्यास गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारलाई पारिश्रमिक नपाउँदा काम छाड्न सुझाव दिनुभयो । ९ महिनासम्म तलब नदिँदा पनि त्यही मिडियामा काम गरिरहनु पत्रकारको पनि कमजोरी भएको उहाँको भनाइ थियो ।

गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले सरकारले नागरिक अधिकार हनन् गर्‍यो भनिरहँदा यसअघिका प्रवृत्तिलाई पनि समीक्षा गर्नुपर्ने बताउनुभयो । लोकतन्त्र र नागरिक अधिकार सुनिश्चितताका लागि मिडियाको भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो ।