हेटौँडा : सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा सचेतनामूलक हास्यव्यङ्ग्य प्रहसन तथा सम्मान समर्पण कार्यक्रम २०८३ सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिको समन्वयमा सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा भएको कार्यक्रममा विभिन्न हास्य व्यङ्ग्यकारहरु तथा नवकलाकारहरुको प्रहसनका साथै सम्मान समर्पण सम्पन्न भएको हो ।

हेटौँंडाको ओम्याक्स सिनेमा हलमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्यकार नरनाथ लुइटेललाई गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिएको छ । उहाँलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । यस्तै चर्चित हास्यव्यङ्ग्य कलाकार सीता न्यौपानेलाई २० हजार रुपैयाँ नगदसहित आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिएको छ ।

कार्यक्रममा मकवानपुरका ४ वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितात्मक हास्यव्यङ्ग्य प्रहसनमा सहभागी भएका थिए । जसमा हेटौँडा–४ स्थित नवोदय शिशु सदन प्रथम, हेटौँडा–१६ स्थित जनप्रिय मावि द्वितीय, बकैया–३ स्थित बुद्ध मावि तृतीय र मकवानपुरगढी–५ स्थित शारदा मावि सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट प्रस्तुतीका लागि नवोदय शिशु सदनका विद्यार्थी सन्देश गौतमले विशेष पुरस्कार प्राप्त गरे । सिस्नुपानी मकवानपुरलाई प्राप्त ८ वटा विद्यालयहरुको हास्यव्यङ्ग्य प्रहसन मध्ये ४ वटा विद्यालयको समूहहरु छनौट गरी शनिबारको विशेष कार्यक्रममा प्रस्तुतीको अवसर प्रदान गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्य तथा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक अध्यक्ष आरसी रिजाल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल लगायत साहित्यकार तथा विभिन्न क्षेत्रका हास्यव्यङ्ग्य प्रेमीहरुको सहभागिता थियो ।