रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान ।

हेटौँडा: मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । बिहिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोलले हराउँदै सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

बागमतीको जीतमा सुजन गुरुङले ३१ औं मिनेटमा, राजु लोले ६८ औं र अनिष महर्जनले ७१ औं मिनेटमा गोल गरे । प्लेयर अफ दि म्याच बागमतीका लागि पहिलो गोल गरेका गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बागमती युथले सेमिफाइनल प्रवेशका लागि सातौं संस्करणका विजेतासमेत रहेको चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइजले समूह ए बाट बाई पाएको हो ।

प्रतियोगिता अन्तर्गत आज शुक्रबार त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति युवा क्लबबीच खेल हुनेछ । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् । फाइनल खेल बैशाख २६ गते हुनेछ ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी र एन्फा केन्द्रीय सदस्य टीकाराम लामा लगायतको उपस्थिति रहेको थियो ।