हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा हालसम्म ३ जनालाई कोरोना भाइरस पोजेटिभ भएको छ । जसमा २ जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् भने एक उपचाररत छन् । गाउँपालिकाका एक कोरोना सङ्क्रमितको मनहरी गाउँपालिकाको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणमुक्त भएका एकजना उपचारका लागि काठमाडौं पुगेका थिए भने अर्का एकजना मनहरीको आइसोलेसनबाट कोरोनामुक्त भएका थिए ।

अहिले उपचाररत एकजना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब नमुना सङ्कलन गरिँदै छ । गाउँपालिकाको वडा नम्बर ३ सरिखेतमा कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी नमुना सङ्कलन गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । राक्सिराङ–३, सरिखेतस्थित सूर्योदय माविमा सञ्चालित क्वारेन्टिनमा केहि दिन अगाडि मलेसियाबाट आएका ३ जना छन् ।

गाउँपालिकामा आइसोलेसन बनाउन आवश्यक प्रविधि र प्राविधिकको व्यवस्था गर्न असहज हुने हुनाले आइसोलेसन बनाउने कुनै योजना नभएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । राक्सिराङ गाउँपालिकाका सङ्क्रमितलाई छिमेकी मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।