हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयको तह घटुवा भएको छ । शैक्षिक सत्र २०८३ सालबाट १० कक्षासम्म पठनपाठन हुने विद्यालयलाई तह घटुवा गरी ८ कक्षासम्मको पठनपाठन सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पंकज थारुले जानकारी दिनुभयो ।

२०६६ सालबाट कक्षा ९ र २०६७ सालबाट कक्षा १० सञ्चालन भएको उक्त विद्यालयमा विद्यार्थी संख्या न्यून भएका कारण तह घटुवा गरिएको उहाँको भनाइ छ । यसवर्ष कक्षा ९ बाट उत्तीर्ण भई कक्षा १० मा गएका ५ जनालाई अन्यत्र विद्यालयमा पठाइएको छ । आगामी वर्षहरुमा विद्यार्थी संख्या बढ्दै गएमा कक्षा थप गर्ने गरी तह घटुवा गरिएको शिक्षा शाखा प्रमुख थारुको भनाइ छ ।

गत वर्षको आधारभूत तहको परीक्षामा ७ जना विद्यार्थी विद्यालय भर्ना भएकोमा २ जनामात्रै परीक्षामा सहभागी भएका थिए । विद्यालयबाट २०८१ र २०८२ सालको एसईईमा एक–एक जना विद्यार्थी सहभागी भएका थिए ।

पालिकाभित्र रहेका ५० वटा सामुदायिक विद्यालयमध्ये केही विद्यालय विद्यार्थी सख्या कम भएका कारण मर्ज गर्नुपर्ने अवस्था आएको थारुको भनाइ छ । भौगोलिक अवस्था, पहुँच र गुणस्तरका कारण विद्यार्थी संख्या कम भएको उहाँले बताउनुभयो । कालिका माविमा कक्षा ९ र १० मा अध्यापन गराउने शिक्षकहरुलाई मावि सञ्चालन भएका अन्य विद्यालयमा पठाइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय गाउँ तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या लगातार घट्दै गएका कारण विद्यालय व्यवस्थापनमा नयाँ चुनौती देखिन थालेको छ । यस अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले विद्यालय मर्ज गर्ने, बन्द गर्ने वा तह घटाउने गरेको पाइन्छ ।

बसाइँसराइ, जन्मदरमा कमी र निजी विद्यालयतर्फ आकर्षण बढ्नुका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । धेरै विद्यालयमा कक्षामा विद्यार्थी अत्यन्त न्यून भएपछि एकै शिक्षकले धेरै कक्षा सम्हाल्नुपर्ने अवस्थासमेत आएको पाइन्छ । विशेषगरी दुर्गम क्षेत्रमा विद्यालय टाढा हुँदा विद्यार्थीहरु नियमित उपस्थिति नहुने समस्या पनि छ ।