फाइनल प्रवेश गरेको हेटौँडा–१२ को महिला भलिबल टिम ।

हेटौँडा : हेटौँडामा जारी उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ उपाधिका लागि हेटौँडा–५ र हेटौँडा–१२ बीच उपाधि भिडन्त हुने भएको छ । आज (सोमबार) दिउँसो सम्पन्न दोस्रो सेमीफाइनल खेलमा हेटौँडा–१२ विजयी भएको छ । हेटौँडा–१२ ले हेटौँडा–१७ लाई २५–१५, २५–१७ र २५–१० को सोझो सेटमा सहजै पराजित ग¥यो ।

यसअघि आज (सोमबार) बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा हेटौँडा–५ ले हेटौँडा–९ लाई २५–२२, २५–१८ र २५–१२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अहिले पुरुषतर्फको सेमीफाइनल चरणका खेलहरु हुँदैछ । पुरुषतर्फ फाइनल प्रवेशका लागि हेटौँडा–११ र हेटौँडा–१२ बीच सेमीफाइनल खेल हुनेछ भने हेटौँडा–१८ र हेटौँडा–१९ बीच अर्को सेमीफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ, सान्त्वना हुने टिमले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछ । हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन तथा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । महिलातर्फ ७ वटा वडाको टिम सहभागी हुँदा पुरुषतर्फ १० वटा वडाको टिम सहभागी थिए ।