‘सिर्जना संसार’ सार्वजनिक गरिँदै ।

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा १२ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको ‘सिर्जना संसार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । शुक्रबार म्यानेजमेन्टमै एक समारोहका बीच ‘सिर्जना संसार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको हो ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टको होटल म्यानेजमेन्ट विभागका प्रमुख राजीव कर्णको अध्यक्षता तथा म्यानेजमेन्टका सहायक प्रिन्सिपल रामपण्डित खनालको प्रमुख आतिथ्यमा ‘सिर्जना संसार’ को लोकार्पण गरिएको हो । ‘सिर्जना संसार’ मा विद्यार्थीका साहित्यिक रचना प्रकाशित छ । सम्पादन मण्डलका सदस्य म्यानेजमेन्टका प्राध्यापक अमूल श्रेष्ठले विद्यार्थीलाई रचनात्मक बनाउन ‘सिर्जना संसार’ प्रकाशन गरिएको बताउनुभयो ।

कार्यक्रममा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले विद्यार्थीका लागि रचनात्मक कामको रुपमा साहित्यिक पत्रिका प्रकाशन गर्नु उपयुक्त भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रकै प्रवद्र्धन गर्ने र विद्यार्थीले पर्यटन क्षेत्रको वस्तुस्थिति पनि बुझ्ने गरी पत्रिकामा लेख, रचना तयारी गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।