अन्तरक्रियामा बोल्नुहुँदै सन्दिप लामिछाने ।

हेटौँडा : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दिप लामिछानेले बुधबार हेटौँडा भ्रमण गर्नुभएको छ । हेटौँडा स्पोर्टस् एकेडेमीको निमन्त्रणामा हेटौँडा आउनुभएका लामिछानेले हेटौँडा–४, गर्दोईस्थित हेटौँडा स्पोर्टस एकेडेमीको अवलोकन गर्नुभएको हो ।

एकेडेमीमा आयोजित एक विशेष कार्यक्रमका बीच लामिछानेले त्यहाँ प्रशिक्षणरत खेलाडीहरूसँग आफ्ना खेल जीवनका अनुभवहरू साटासाट गर्नुभएको थियो । खेलाडीहरूसँग प्रश्नोत्तर गर्दै उहाँले सफलताका लागि अनुशासन र मानसिक स्वास्थ्य आवश्यक भएको बताउनुभयो । सधैं अनुशासित भएर अगाडि बढ्न र खेलमा आफूलाई के कुराले खुसी बनाउँछ, त्यसमा ध्यान केन्द्रित गर्न लामिछानेले सुझाव दिनुभयो । उहाँले खेलाडीहरूलाई सकारात्मक सोचको विकास गर्न सुझाव दिँदै राम्रा पुस्तकहरू पढ्न, प्रेरणादायी फिल्महरू हेर्न र नयाँ ठाउँको भ्रमण गर्न भन्नुभयो ।

एकेडेमीका किशोर खेलाडीको व्याटमा हस्ताक्षर गर्नुहुँदै सन्दिप लामिछाने ।

अन्तरक्रियाका क्रममा उहाँले आफूलाई क्रिकेटबाहेक बास्केटबल खेल निकै मनपर्ने र भारतीय क्रिकेटर सचिन तेन्दुलकरबाट आफू प्रभावित रहेको बताउनुभयो । बाल्यकाल भारतमा बिते पनि आफूले क्रिकेट नेपालमै सिकेको लामिछानेको भनाइ छ । हार–जितलाई खेलको स्वभाविक प्रक्रियाका बताउँदै खेलाडीले आफूलाई मानसिक रूपमा सधैं स्वस्थ राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जब तपाईं उपलब्धि हासिल गरेर आफ्नो कठिन यात्रालाई फर्केर हेर्नुहुन्छ, तब मात्र वास्तविक गर्व महसुस हुन्छ’, लामिछानेले भन्नुभयो । अन्तरक्रियामा ठट्टा गर्दै लामिछानेले आफूलाई क्रिकेटको सबभन्दा नराम्रो खेलाडी बताउनुभयो । एकेडेमीका खेलाडीहरुलाई हौसला दिँदै उपलब्धि हासिल गरेपछि माथिबाट फर्केर आफ्नो यात्रा हेर्दा वास्तविक गर्व महसुस हुने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरका क्रिकेटर शुभ कंसाकार पनि सहभागी हुनुहुन्थ्यो ।

एकेडेमीमा अन्तरक्रियापछि खिचिएको सामूहिक तस्वीर ।