हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा विद्यालयको ५० औँ वार्षिक अभिभावक भेलामा सम्पन्न भएको हो ।
भेलामा विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुभयो । साथै, आगामी शैक्षिक सत्र २०८३ का लागि प्रस्तावित बजेट र योजनाहरू प्रस्तुत गर्दै विद्यालयको गुणस्तर अभिवृद्धिमा अभिभावकको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओलीले स्वर्ण महोत्सवको आय–व्यय प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । स्वर्ण महोत्सवमा कुल ६८ लाख ३० हजार २ सय ४९ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । स्वर्ण महोत्सवको अवसरमा व्यक्तिगत सहयोगबाट २२ लाख १६ हजार २ सय ६९ रुपैयाँ विद्यालयलाई प्राप्त भएको थियो ।
स्वर्गीय व्यक्तिको सम्झनामा २ लाख २ हजार ८ सय ७ रुपैयाँ, स्थानीय निकाय, फर्म तथा संघसंस्थाबाट ३२ लाख ५७ हजार ३ सय १६ रुपैयाँ र स्मारिका विज्ञापनबाट १ लाख १० हजार रुपैयाँ विद्यालयलाई आम्दानी भएको थियो । विद्यालयले कुल १० लाख ४३ हजार ८ सय ५७ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष ओलीले बताउनुभयो ।
अभिभावक भेलाको अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी अन्जना बस्नेतको अध्यक्षतामा विद्यालयमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।
हेटौँडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको पूर्वअध्यक्ष इन्दिरा तामाङसहित व्यवस्थापन समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।











