हेटौँडा: हेटौँडा–१० स्थित डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ । डा. टोनी हेगन पार्क परिसरभित्र रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।


साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख लामाले विदेशमा १५–१५ मिनेटको दूरीमा पार्क रहेको बताउनुभयो । पार्कमा स्थानीयले अपनत्व लिनुपर्ने बताउनुहुँदै नगरप्रमुख लामाले पार्कको कार्यसमितिमा महिलाको सहभागिता बढाउनुपर्ने बताउनुभयो । पार्कका सल्लाहकार समेत रहनुभएका अग्रज पत्रकार प्रताप बिष्टले डा. टोनी हेगन नेपालको विकास विज्ञ भएकोले उहाँको सम्मानमा सामाजिक एवम् विकासको क्षेत्रमा उल्लेख्य काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्नुपर्ने सुझाव दिनुभयो । वडाध्यक्ष फुर्वा दोर्जे लामाले १० नम्बर वडामा एक घर एक दूव्र्यसनी हुन थालेकोले लागूऔषध दूव्र्यसन रोक्ने उपाय पत्ता लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष रघुनाथ खुलाल, पार्कका सल्लाहकार सिद्धिलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो । डा. टोनी हेगन पार्कका अध्यक्ष इन्द्रप्रसाद नेपालले पार्कमा नेपाली मौलिकता झल्कने सत्तल, ढुङ्गेधारा निर्माण गरिएको जानकारी दिनुभयो । साधारणसभामा मञ्चका सचिव रामप्रसाद शर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गणेशमान श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा समितिका प्रतिवेदनहरु पारित गरिएको छ ।