‘लिडरसीप कन्क्लेभ २०२६’ को क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित लिडरसिप कन्क्लेभ २०२६ शनिबार हेटौँडामा सम्पन्न भएको छ । जेसीआई हेटौँडाको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा होटल स्मारकमा कार्यक्रम भएको हो ।

‘प्रेरक व्यक्तित्व र परिवर्तनकारी व्यक्तिसँग सिक’ भन्ने मूल नारासहित आयोजित कन्क्लेभमा विभिन्न क्षेत्रका वक्ताहरूले नेतृत्व, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र व्यक्तिगत विकासका विषयमा आफ्ना अनुभव तथा विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभामा ईलाम क्षेत्र नं. १ बाट निर्वाचित यूवा सांसद निस्कल राईको सहभागिता रहेको थियो । त्यसैगरी जेसीआई वर्ष २०२६ का उपाध्यक्ष रजनी थापा र मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलको सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत उद्योगपति स्वागत राज प्याकुरेल र मेकवेजका संचालक एवम् एडकल्वका अध्यक्ष विधानराज भण्डारीले प्रेरक प्रसंग प्रस्तुत गर्नुभएको थियो । सामाजिक अभियन्ता मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले नेतृत्वसम्बन्धी कार्यशाला सञ्चालन गर्नुभयो । कार्यक्रम संयोजक प्रविण श्रेष्ठले युवाको नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमका सभाअध्यक्ष जेसिआई हेटौँडाका अध्यक्ष सन्तोष पराजुलीले युवालाई सकारात्मक सोचसहित समाज परिवर्तनमा अग्रसर हुन प्रेरित गर्दै जेसिआई हेटौंडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा युवा, उद्यमी, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।