हेटौँडा : हेटौँडा–१, चौकीटोलस्थित मापदण्ड विपरित संचालित एक क्रसर उद्योगमा प्रशासनले सिल लगाएको छ भने एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको अनुगमन टोली तथा जिल्ला सुरक्षा समितिको टोलीले हेटौंडा–१ स्थित चौकीटोलमा संचालनमा रहेको ग्लोबल बालुवा उद्योगमा सिल गरेको हो । उक्त उद्योगका संचालक रमेश मैनालीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बालुवा उद्योग दर्ता गरी घनावस्तीमा क्रसर संचालन गरेको, अवैद्य उत्खनन् गरी नदीजन्य पदार्थ संकलन गरेको, उद्योगको दर्ता तथा नवीकरण र राजस्व सम्बन्धी कागजात नभएको भन्दै समन्वय समितिको अनुगमन टोलीले उद्योगमा सिल गरेको हो । अनुगमन टोलीले सिल गर्ने क्रममा अभद्र व्यवहार गरेको र सरकारी अधिकारीलाई काम गर्न बाधा पुर्‍याएको आरोपमा उद्योगका संचालक रमेश मैनालीलाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार गृह मन्त्रालयको निर्देशन अनुसार दर्ता नभएका र राजस्व तथा अनियमित रुपमा काम गरिरहेका क्रसर तथा वालुवा उद्योग बन्द गर्ने अभियानको तयारी भएको बताए । सोही अनुसार करिव १५ दिनअघि हेटौंडा–१ चौकीटोलको सो उद्योगको जिल्ला समन्वय समितिको नेतृत्वमा बैठक बसी अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा उद्योगले आवश्यक कागजात र राजस्व दाखिलाको प्रमाण दिन नसकेको तथा अनुमती विपरित नदीजन्य पदार्थ उत्खनन् गरेको देखिएकाले सिल गरिएको उनके भनाई छ ।

२ पटकसम्म सरकारी कर्मचारीहरुलाई काम गर्न बाधा पु¥याएको र अभद्र व्यवहार गरेकाले संचालकलाई पक्राउ गरिएको प्रजिअ अधिकारीले बताए । जिल्लामा संचालनमा रहेको मापदण्ड विपरितका क्रसर तथा बालुवा उद्योगहरुको अनुगमनको कार्य जारी रहेको र आवश्यक कागजात नभएका उद्योगहरु संचालनमा रोक लगाइने उनले बताए ।