पालिकास्तरीय परीक्षाको रुपमा कक्षा–८ को परीक्षालाई लिइन्छ । तीन तहको सरकारअनुसार कक्षा–८ को परीक्षालाई पालिकास्तरको, कक्षा–१० र १२ को परीक्षा वार्षिकरुपमा केन्द्र सरकारले हेर्ने, व्यवस्थापन गर्ने भन्ने छ । अहिले देशव्यापी रुपमै पालिकास्तरीय परीक्षाको नतीजा सार्वजनिक भइरहेका छन् । पालिकास्तरीय परीक्षाको नतीजालाई हेर्दा असाध्यै उत्कृष्ट नतीजा देखिन्छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा हेटौँडा उपमहानगरपालिकाका ८४ प्रतिशत विद्यार्थी कक्षा–९ मा पुगेका छन् । पालिकास्तरीय परीक्षामा देखिएको नतीजा सकारात्मक देखिए पनि यसमा आशंकाको अवसर रहन्छ ।
पालिकास्तरीय परीक्षाको उत्तीर्ण दर र कक्षा–१० र १२ को परीक्षाको नतिजाको तुलनात्मक विश्लेषण जरुरी छ । पालिकास्तरीय परीक्षामा ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको इन्द्रसरोवर गाउँपालिकाको एसईईको नतिजा उस्तै देखिन्छ ? पालिकास्तरमा देखिएको नतिजालाई विद्यालय र माध्यमिक दुबै तहको परीक्षामा कायम राख्न सक्नुपर्छ । अन्यथा परीक्षाको नाटक मात्रै हुनेछ । पालिकास्तरीय परीक्षाले सम्बन्धित पालिकालाई नै आफ्ना विद्यार्थीको मूल्यांकन गर्ने अवसर रहन्छ । यस्तो अवसरमा विद्यार्थीको नतिजालाई मात्रै हेर्ने, विद्यार्थीको गुणात्मक अवस्थाका बारेमा ध्यान नदिनु ठिक हुन्न ।
पालिकास्तरको परीक्षामा आफ्ना विद्यार्थीको सवल र दुर्वल पक्षको विषयमा पहिचान गरी पालिकास्तरीय परीक्षामा भन्दा राम्रो नतीजा हासिल गर्ने गरी अगाडि बढ्नुपर्छ । पालिकास्तरीय परीक्षा एक दृष्टिकोणले विद्यालयहरुको मूल्यांकन पनि हो । ७ कक्षासम्म विद्यालयले आफैं परीक्षा सञ्चालन गर्ने र नतीजा प्रकाशन गर्ने जिम्मेवारी पाउँदै गर्दा कक्षा–८ मा भने विद्यालयले आफ्ना विद्यार्थीको परीक्षण नगरस्तरीय प्रश्नपत्रका आधारमा गर्नुपर्ने हुन्छ । यसले विद्यार्थीको समग्र अवस्था पत्ता लगाउन पनि सहयोग पुग्छ ।
यसर्थ वार्षिक परीक्षा नियमित प्रक्रिया भए पनि यसको गाम्भीर्यता बुझ्नु जरुरी छ । परीक्षाको संवेदनशीलता र यसको उपयोगितालाई स्थापित गर्न पालिकाले थप जिम्मेवार भएर योजना बनाउनु पर्छ । पालिकास्तरीय परीक्षामा पालिकाले परीक्षा सञ्चालन गर्ने र नतिजा सार्वजनिक भएपछि चुपचाप बस्ने होइन । परीक्षाको उचित व्यवस्थापनपछि प्राप्त नतिजाको जिम्मेवारीपूर्व समीक्षा गरी आगामी दिनमा थप सशक्त नतिजा हासिल गर्न सक्षम हुने आधार बनाउनुपर्छ ।











