प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेल ।

हेटौँडा : बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपाका नेता शालिकराम जम्कट्टेलले सरकारले प्रदेश सभा (संसद) बाट पारित भएको बजेटमा ‘कैँची’ चलाएर विधिको शासन उल्लंघन गरेको बताएका छन् । उनले सरकारले रातो किताबमा परेका योजनाहरूको बजेट कटौती गरेर कार्यकर्तामुखी योजनामा रकमान्तर गरेको भन्दै आपत्ति व्यक्त गरे ।

मंगलबारबाट सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनको बैठकमा बोल्दै नेता जम्कट्टेलले जेनजी पुस्ताले उठाएका मुद्दा र आन्दोलनले सुशासनको माग गरिरहेको बेला सरकार भने कुशासनको बाटोमा लागेको बताए । सरकारले ल्याएको बहुवर्षीय ठेक्का मापदण्ड र विकासका कार्यक्रमको बजेट कटौतीको गरेको उनले बताए । सरकारले चालुतर्फ २ अर्ब ३१ करोड र पुँजीगततर्फ ५ अर्ब २८ करोड गरी कुल ७ अर्ब ५९ करोड रुपैयाँ विनियोजित बजेटबाट कटौती गरेको उनको भनाई छ ।

‘जनताले सुशासन चाहेका छन् । तर सरकार आफैँले सुशासन बिगारेर कुशासनको बाटो रोजेको छ । विगतको समीक्षा गरेर अघि बढ्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको छ ।’ उनले भने, ‘असार १ गते प्रदेश सभामा पेश गरेर पास भएको बजेट कार्यान्वयन गर्न उपभोक्ता जाँदा बजेट जिरो छ । यो कस्तो शासन हो ? बजेट बनाउने र कार्यक्रम पास गर्ने पहिलो अधिकार प्रदेश सभाको हो । क्याबिनेटले धमाधम बहुवर्षीय योजना निर्णय गर्दै जाने यो गलत बाटो हो ।’ नेता शालिकराम जम्कट्टेलले सरकारले विधि र प्रक्रिया मिचेर काम गर्दा प्रदेशको प्रशासनिक संयन्त्र नै भताभुंग हुने बताए । उनका अनुसार प्रतिपक्षी दल जिम्मेवार रहेको र सरकारलाई सघाउन तयार रहेको उनले बताए ।