हेटौँडा : बागमती प्रदेशमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन राजनीतिक दलहरुबीच सहमति भएको छ । मंगलबार दिउँसो बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा सत्तारुढ र विपक्षी दलहरु सभामुख नियुक्तिको प्रक्रियालाई अघि बढाउन सहमत भएका हुन् ।
उक्त सहमति अनुसार मंगलबार अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा सभामुखको विषयले प्रवेश पाउने भएको छ । बैठकमा उपसभामुख अप्सरा चापागाईले तत्कालिन सभामुख भुवनकुमार पाठकले पदबाट दिएको राजीनामा पत्र प्रस्तुत गर्ने कार्यतालिका रहने छ । पत्र प्रस्तुत भएको १५ दिन भित्र सभामुख चयन प्रक्रियाका लागि कार्यतालिका तयार गर्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार सभामुखको राजीनामा वा पद रिक्त भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
प्रदेश सभाको आजको कार्यसूचीमा सभामुखको सूचना वाचनसहित केही प्रतिवेदन र शुभकामना आदानप्रदानको कार्यक्रम रहेको छ । प्रदेश सभाको बैठक ३ दिनसम्म चलाउने गरी कार्यसूचि बनाउने सहमति जुटेको हो । प्रदेश सभाको बैठकमा बुधबार विशेष समयको कार्यसूचि रहने छ भने बिहीबार केही विधेयक र प्रतिवेदनहरु पेश हुनेछ ।
सभामुखमा ४ दलको दावी
सभामुख चयन प्रक्रिया सुरु भएसँगै प्रदेशसभामा रहेका ४ दलहरुले दावी गरेका छन् । एक सभामुख पदका लागि सत्तारुढ दल कांग्रेस, सत्ता साझेदार दल एमालेसहित प्रमुख प्रतिपक्षी दल नेकपा र राप्रपाले आ–आफ्नो दावी प्रस्तुत गरेका हुन् ।
सर्वदलीय बैठकमा ४ वटै दलका प्रदेश सभा सदस्यहरुले सभामुख पद आफूले पाउनु पर्ने माग गरेका हुन् । कांग्रेसका प्रदेश सभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछानेले सदनको सबैभन्दा ठूलो दल हुनुको नाताले सभामुख पदमा कांग्रेसको दावी स्वाभाविक रहेको बताए । ‘सभामुखका लागि आजबाट प्रक्रिया सुरु हुन्छ । संविधान अनुसार १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ । ठुलो दलको नाताले कांग्रेसले सभामुख पद पाउनुपर्छ भन्ने हाम्रो अडान छ’, उनले भने, ‘सत्तारुढ दलहरूबीच सभामुख कसले लिने भन्नेबारे घनिभूत छलफल हुन बाँकी छ । राप्रपाले पनि मिलेर जाने बाटो बनाउन व्यवस्थापिका प्रमुख आफूले पाउनुपर्ने माग गरिरहेको छ भने एमालेले मुख्यमन्त्री अर्को दलको भएपछि सभामुख आफूले पाउनुपर्ने अडान राखेको छ ।’
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपाका नेता शालिकराम जम्कट्टेलले शक्ति सन्तुलनका लागि सभामुख पद प्रतिपक्षीले पाउनुपर्ने तर्क अघि सारेका थिए । कार्यपालिका (सरकार) सत्तापक्षले चलाएपछि व्यवस्थापिका (सदन) को नेतृत्व प्रतिपक्षीलाई दिनु उपयुक्त हुने उनले बताए । उनका अनुसार सभामुख चयनको संवैधानिक प्रक्रिया आजैबाट सुरु भएको र १५ दिनभित्र यसलाई टुंग्याउनुपर्ने हुन्छ । सत्तापक्षले सहमति नगरे आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने उनको भनाई छ ।
‘हामीले सरकारलाई तपाईँहरु सरकार चलाउनुस् । सदनको नेतृत्व हामीलाई दिनुस् भन्ने हाम्रो माग गरेका छौं । शक्ति सन्तुलनका लागि प्रतिपक्षीको दावी स्वभाविक हो । यसले एउटा राम्रो सन्देश पनि जान्छ र सदनमा काम गर्ने वातावरण पनि बन्छ’, उनले भने, ‘सहमति गर्ने कुरा सत्तापक्षको हातमा छ । यदि उहाँहरूले बहुमतको बलमा आफैँले राख्न खोज्नुभयो भने हामी उम्मेदवारी दिन्छौँ र प्रतिस्पर्धा गर्छौँ । सभामुखका लागि एमाले र राप्रपाको पनि दाबी रहेको छ ।
जेनजी आन्दोलनका क्रममा तत्कालिन सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा घोषणा गरेका थिए भने असोज १ गते नै राजीनामा पत्र सदनमा पठाएका थिए । सो समयमा सदन चल्न नसकेका कारण औपचारिक रुपमा पेस हुन सकेको थिएन । सरकारले सदन नचलाई अधिवेशन अन्त्य गरेपछि उपसभामुख अप्सरा चापागाईले मंरिर ४ मा सभामुखको राजीनामा बारे जानकारी दिन सूचना जारी गरेकी थिइन् । उक्त सूचना आजको बैठकबाट पेश भई प्रक्रिया सुरु भएपछि आगामी १५ दिनभित्र नयाँ सभामुख नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।











