हेर्टौँडा : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन २४ गते आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते मंगलबार दिउँसो ४ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संसदको हिउँदे अधिवेशन आह्वान गर्नेछन् । पछिल्लो पटक गत साउन २७ मा बसेको बैठक हालसम्म बस्न सकेको छैन ।
भदौ २३/२४ गतेको जेनजी आन्दोलनको क्रममा प्रदेशसभा सचिवालय, प्रदेशसभा हल सहितका संरचना जलेपछि प्रदेश सभा बैठक बस्न नसकेको हो । प्रदेशसभा बैठक बस्न नसकेपछि मंसिर ३ मा प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको थियो । प्रवक्ता तामाङका अनुसार हाल अस्थायी रुपमा सभा संचालनका लागि हेटौँडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभाहललाई मर्मत गरेर तयार गरिएको छ । ३१ हेक्टर जग्गामा प्रदेशको सबै संरचना त्यहाँ बनाउने गुरुयोजनाका साथ प्रदेश सरकार अगाडि बढेको उनले बताए ।
‘प्रदेश सभाको बैठक र प्रदेश सभाको भवन हामीले अस्थायी रुपमा तयार गरेका छौँ । अहिले यो उपमहानगरपालिकाको हलमा बैठक चलाउने तयारी गरेका छौं’, उनले भने, ‘यो सँगै प्रदेश सभाको स्थायी भवन बनाउने प्रक्रिया पनि अघि बढाउने योजना बनाएका छौं । बागमती प्रदेश सरकारलाई संरचना निर्माण गर्न हेटौँडा–१७ मा ३१ हेक्टर जग्गा संघीय सरकारबाट प्राप्त भइसकेको छ । प्रदेश सभा भवन लगायतका प्रदेशका मन्त्रालयको भवनहरुको विषयमा यसै वर्षमा ठेक्का लाग्छ ।’











