हेटौँडा : हेटौँडा–१० मा दुई वटा विश्वविद्यालयको शिक्षालय छ । त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानअन्तर्गत वन विज्ञान क्याम्पस हेटौँडा र कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन संकायको कार्यालय, वन विज्ञान क्याम्पस छ । दुबै संस्था प्राज्ञिक संस्था हो । संघीय सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान र चितवनस्थित रामपुर क्याम्पसलाई गाभेर कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको डेढ दशक हुन लाग्यो । राज्यले विशिष्ट तथा प्राविधिक विश्वविद्यालय बनाउने भनेर गरेको निर्णय प्राज्ञिक भनिएका वर्गबाटै अनेकन बहानामा अझै २ वटै विश्वविद्यालयको अस्तित्व देखिन्छ ।
स्थापनाकालदेखिको विवाद बीच गत शुक्रबार दिउँसो कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन विज्ञान संकायको कार्यालयले निर्माण गरेको गेट त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानअन्तर्गत वन विज्ञान क्याम्पस हेटौँडाले डोजर लगाएर भत्काइदिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयतर्फ छात्रावास, कर्मचारी आवास तथा अडिटोरियम हलतर्फ प्रवेशका लागि सहज हुने गरी निर्माण गरिएको गेट शुक्रबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानअन्तर्गत वन विज्ञान क्याम्पस हेटौँडाले डोजर प्रयोग गरेर गेट भत्काइदिएको हो ।
केही दिनअघि मात्रै निर्माण गरिएको गेट त्रिवि वन विज्ञान क्याम्पसका उपप्रशासक नै उपस्थित भएर डोजर लगाएर भत्काइएको हो । विश्वविद्यालय परिसरको घना जंगलमा चित्तलको बासस्थान समेत छ । पर्खाल नहुँदा चित्तलहरु विशेषगरी रातीको समयमा जंगलदेखि पूर्वतर्फको सडकमा जाने भएपछि पक्की पर्खाल समेत बनाइँदैछ । तर, प्राज्ञिक थलोमा देखिएको विवादमा त्रिवितर्फको वन विज्ञान क्याम्पस प्रशासनले जबर्जस्ती र आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर सरकारी सम्पत्तिमाथि क्षति पुर्याइएको छ ।
अचानक गेट भत्काएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयतर्फ वन संकायका अधिकारीहरु शुक्रबार साँझै जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गराएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन संकायका सहायक डीन ज्ञानवन्धु शर्माले कार्यालय समय सक्किनै लाग्दा एक्कासी गेट भत्काएको जानकारी दिनुभयो । गेट भत्कायो भनेपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको उहाँले बताउनुभयो । केही दिनअघि मात्रै तयार भएको गेट भत्काएपछि आफूहरु अचम्ममा परेको शर्माको भनाइ छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घटनाबारे जानकारी प्राप्त भएको र राज्यको सम्पत्तिमाथि क्षति पुर्याउने जस्तो गम्भीर त्रु्टी भएको थाहा पाएपछि त्रिवि वन विज्ञान क्याम्पसका प्रमुखलाई टेलिफोनमार्फत राज्यको सम्पत्ति क्षति पुर्याउँदा हुने कारवाहीबारे जानकारी गराएको बताउनुभयो । ‘घटनाबारे थाहा पाएँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायका प्रतिनिधि आएर मलाई घटनाबारे जानकारी दिनुभयो’’, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकाीले भन्नुभयो, ‘त्यसपछि मैले त्रिवितर्फको वन विज्ञान क्याम्पसका प्रमुखलाई फोन गरेर भनेँ । क्याम्पस प्रमुख नभएको भए पक्राउ गरिसक्थेँ । किन त्यसो गरेको भनेँ । शनिबार दिउँसो वडा प्रहरी कार्यालयमा दुबै पक्षलाई राखेर छलफल भएको छ । आइतबार दिउँसो १२ बजे मैले जिल्ला प्रशासन कार्यालयमै बोलाएको छु ।’
त्रिवि वन विज्ञान अध्ययन संस्थानअन्तर्गतको वन विज्ञान क्याम्पसका प्रमुख डा. यमबहादुर केसीले गेट राख्न लागेको थाहा पाएपछि चैत १२ गते नै पत्राचार गरेर गेट नबनाउन भनिए पनि गेट बनाएपछि आफूहरुले भत्काएको स्वीकार्नुभयो । पहिले नै जानकारी गराउँदा पनि गेट हालेपछि डोजर लगाएर भत्काएको उहाँको भनाइ छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले निर्माण गरे पनि सरकारी सम्पत्ति नै भएको र सरकारी सम्पत्तिमा क्षति पु¥याउने अधिकार तपाइँलाई छ त ? भन्ने जिज्ञासामा क्याम्पस प्रमुख डा. केसीले गल्ती भएको स्वीकार्नुभयो ।











