
हेटौँडा : समाचार संकलनका लागि खटिएका पत्रकारमाथि नेकपा एमालेका कार्यकर्ताले हेटौँडामा सञ्चारकर्मीमाथि आक्रमण गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलित नेकपा एमालेका कार्यकर्ताले आइतबार दिउँसो हेटौँडामा सञ्चारकर्मीमाथि आक्रमण गरेका हुन् । विरोध प्रदर्शन गर्दै हेटौँडाको कान्तिराजपथमा स्थानीय एक महिलाले घन्टी बजाएर एमाले कार्यकर्तालाई गिज्याएपछि ती महिलामाथि आक्रमण गरेका एमाले कार्यकर्ताले भिडियो बनाएको भन्दै सञ्चारकर्मीलाई आक्रमण गरेका हुन् ।
एमाले कार्यकर्ताले सञ्चारकर्मी सन्तोष बिक र चक्र बोहरामाथि आक्रमण गरेका हुन् । महिलामाथि आक्रमण गरेको भिडियो खिचेको भन्दै भिडियो डिलेट गर्न धम्क्याउँदै एमाले कार्यकर्ताले सन्तोष र चक्रमाथि आक्रमण गरेका हुन् । उनीहरुलाई कुटपिट समेत गरिएको छ । पीडित सन्तोषले एमाले कार्यकर्ताले भिडियो बनाएको भन्दै आक्रमण गरेको बताए । सञ्चारकर्मीमाथि आक्रमण भएको घटनामा स्वतन्त्र पत्रकार संघ मकवानपुरले विरोध जनाएको छ । स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीले विज्ञप्ति निकालेर सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार तथा आक्रमण घोर निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको सचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारविरुद्ध हुने यस किसिमको घटनाले गम्भीर आघात पु¥याएको उल्लेख गर्दै संघले जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल प्रहरीलगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीहरूले सुरक्षित रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । साथै स्वतन्त्र पत्रकार संघले विरोध प्रदर्शनमा सहभागी हुने नेता, कार्यकर्तालाई संयमित र जिम्मेवार भई सञ्चारकर्मीको सुरक्षाप्रति संवेदनशील हुन अनुरोधसमेत गरेको छ । सञ्चारकर्मीमाथिको दूव्र्यवहारको घटनाबारे नेपाल पत्रकार महासंघलाई पनि जानकारी गराइएको संघले जनाएको छ ।










