सांकेतिक तस्वीर ।

हेटौँडा : प्रदेशको काभ्रे र धादिङ जिल्लामा सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको । एकैदिन छुट्टा–छुट्टै सवारी दुर्घटनामा काभ्रेमा २ जना र धादिङमा १ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार काभ्रेको बनेपा नगरपालिका–८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा पछाडीको भित्रि सडकखण्डमा पुलबजारबाट विद्युत प्राधिकरण चोकतर्फ जाँदै गरेको बा १९ च ५७४७ नम्बरको बलेरो गाडीको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका थिए । घाइते पैदलयात्री बनेपा–१०, पुलबजारका ८० वर्षीय गंगालाल मानन्धरको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो र बोलेरो चालक सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका-१ का २२ वर्षीय शंकरमान घिसिङ प्रहरीको नियन्त्रणमा रहेको छ ।

बनेपा–३, तीनघरेमा पनि शनिबार बिहान बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । तीनघरेस्थित भित्रि सडकखण्डमा तीनघरेबाट बनेपातर्फ जाँदै गरेको बा २ ख ४८९४ नम्बरको बसले ठक्कर दिँदा सोही स्थान बस्ने १६ वर्षीय राजेश तामाङ घाइते भएका थिए । घाइते तामाङको शिर मेमोरियल अस्पताल बनेपामा शनिबार राती उपचारको क्रममा मृत्यु भएको हो । बस र बस चालक स्थानीय २६ वर्षीय राजन गुरुङ प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, धादिङको थाक्रे गाउँपालिका–८ स्थित सोप्याङ खोलामा ट्रिपर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । शनिबार त्रिभुवन राजपथमा मकवानपुरतर्फबाट धादिङतर्फ जाँदै गरेको बा २ क ६७३३ नम्बरको बालुवा लोड ट्रिपर ब्रेक फेल भएर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । ट्रिपरमा सवार सोही स्थान बस्ने १४ वर्षीय अनिस केसीको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।